पूर्व रानी कोमललाई प्लाज्मा थेरापीबाट उपचार गरिदै

काठमाडौँ । वैशाख १७, कोरोना संक्रमित पूर्व महारानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । उनलाई यो विधिबाट बिहीबार साँझदेखि उपचार थालिएको हो ।
उनमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आइसियूमा सारिएको थियो । आज पनि उनलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ ।
अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनी पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा छन् ।
पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उनलाई अक्सिजनको सपोर्ट दिनु परेको छैन । कोरोना संक्रमण देखिएपछि उनीहरु तीनैजना गत शनिवारदेखि अस्पतालमा भर्ना भएका थिए ।