आज आमाको मुख हेर्ने पर्व/मातातीर्थ औंसी: मातातीर्थ मेला स्थगित

काठमाडौं । बैशाख २८,
मातृदेवो भव ।
पितृदेवो भव ।।
आचार्यदेवो भव ।।।
‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’
‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’
उल्लेखित संस्कृत श्लोकहरूले आमा अर्थात् मातृ महिमा बोकेका छन् । आज वैशाख कृष्ण पक्षको औँसी: यिनै महिमा बोकेकी आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औँसी ।
आजको दिन आमालाई मनपर्ने खानेकुरा खुवाएर आमाप्रति श्रद्धा, भक्ति, सम्मान तथा आदर गरिन्छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई उपहार दिई मीठा र तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने गर्दछन् । आमा नभएकाहरूले भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवंगत आमाको सम्झना गर्दछन् ।
मातातीर्थ औँसीका दिन काठमाडौंको थानकोट नजिकै अवस्थित मातातीर्थमा धुमधामका साथ मेला लाग्ने गर्छ । तीर्थाटनमा सहभागीहरूले मातातीर्थ कुण्डमा स्नान गर्छन् । तर, यसवर्ष नयाँ भेरियन्टसहितको कोरोना तीव्र रुपमा फैलिएकाले मेला स्थगित गरिएको मेयर घनश्याम गिरीले जानकारी दिए । गत वर्ष पनि कोरोना संक्रमणकै कारण मातातीर्थ मेला स्थगित गरिएको थियो ।