सेयरमा लगानी गर्दै हुनुहुन्छ ? लगानीकर्ताले जान्नैपर्ने केही कुराहरु
काठमाडौं । बैशाख ३१, कम्पनीको पुँजी वा स्वामित्वलाई धेरै इकाइमा विभाजन गरि लगानीकर्ताहरुलाई विक्रि गरिन्छ । यसरी कम्पनीको पुँजीको विभाजीत इकाइको दस्तावेजलाई सेयर भनिन्छ । कम्पनीको लागि पुँजी जम्मा गर्न सेयर जारी गरिन्छ । सेयर, पुँजीको अदृश्य इकाइ हो, जसमा कम्पनी तथा सेयरधनीबीच करार हुने गर्दछ ।
सेयरमा लगानी गरेवापत सेयरधनीहरुले प्रत्यके वर्ष कम्पनीको वित्तीय कार्य सम्पादन वा मुनाफाको आधारमा लाभांश प्राप्त गर्ने गर्दछन् । कुनै पनि कम्पनीले गरेको व्यवसायबाट नाफा वा घाटा हुन्छ । आफुले गरेको लगानीको अनुपातमा उक्त घाटा वा नाफा दुवैको हिस्सेदार हुन मञ्जुर भई गरिएको लगानीको अंश सेयर हो ।
अहिलेसम्म सेयर बजारमा लगानीको लागि ढुक्क हुन सकिने कुनै पनि नियम बनेको छैन । तर, राम्रो मुनाफा आर्जन गर्ने सम्भावना बढाउने केही नियम यहाँ उल्लेख गरिएको छ ।
१. निरन्तर निरीक्षण गर्नुहोस्
सेयर बजारमा निरन्तररुपमा आफ्नो लगानीमा निरीक्षण गरिरहनुपर्ने हुन्छ । जसको माध्यमबाट आफ्नो लगानी कतातिर जाँदैछ भन्ने आफूलाई थाहा हुन्छ । समयको अभाव वा राम्रो ज्ञान नभएको कारण तपाईं त्यसो गर्न सक्नुहुन्न भने तपाईंले अर्को जान्ने मानिसको सहायता पनि लिन सक्नुहुन्छ ।
२. अर्काको धेरै अनुशरण
सेयर खरिद गर्ने वा बिक्री गर्ने भन्ने निर्णय मानिसले आफ्ना, साथीभाइ, आफन्त वा अन्य विश्वासिलो मानिसको प्रभावमा परेर गर्छन् । अर्काको अनुशरण नै गर्न हुँदैन भन्ने होइन त्यसैले कुन अवस्थामा लगानी गर्न सकिन्छ भनेर आफैंले राम्रोसँग सोचविचार गर्नुपर्छ ।
३. पर्याप्त रकम भएको अवस्थामा मात्र लगानी गर्नुहोस्
सेयर बजारको अवस्था सधैं तलमाथि भइरहन्छ । त्यसैले तपाईंले नोक्सानी भए पनि सहन सक्छु भन्ने सोचेर मात्र लगानी गर्नुहोस् । यस्तोमा यो रकम गुमाए पनि मलाई ठूलो असर पर्दैन भन्ने अवस्थामा मात्र लगानी गर्नुहोस् । तपाईंले जोखिम उठाउनुपर्ने हुन्छ ।
४. सुसूचित भएरमात्र निर्णय गर्नुहोस्
लगानी गर्नुभन्दा पहिला राम्रोसँग अध्ययन गर्नु पनि जरुरी हुन्छ । मानिसहरु कम्पनीको नामको आधारमा समग्र अवस्था नबुझी लगानी गर्छन् तर यो सेयर बजारमा लगानी गर्ने सही तरिका भने होइन ।
५. सम्भव हुने अपेक्षा गर्नु
बजारबाट धेरै नाफा कमाउने उद्देश्य राख्नु कुनै नराम्रो कुरा होइन । तर, तपाईंले राख्नुभएको लक्ष्य पूरा हुन सक्ने किसिमको हुनुपर्छ । यसको अर्थ तपाईंले लगानी गरेको कम्पनीमा पनि सोही किसिमको नाफा हुन्छ भन्ने होइन । यस विषयमा वारेन बफेटको सिद्धान्त यस्तो छ, ‘सेयर बजारमा १२ प्रतिशतभन्दा बढी कमाउनु तपाईंको निकै ठूलो भाग्य हो ।
६. बुझेको कम्पनीमा मात्र लगानी गर्नुहोस्
आफूले बुझेको कम्पनीमा लगानी गर्नु राम्रो हुन्छ । यसको अर्थ तपाईंले कुनै कम्पनीमा लगानी गर्दै हुनुहुन्छ भने उक्त कम्पनीले के काम गर्छ भनेर तपाईंलाई राम्रोसँग थाहा हुनु जरुरी हुन्छ । त्यस कम्पनीले केकति लाभांश दिन्छ ? त्यो कम्पनीको सञ्चालक समिति वा व्यवस्थापन कस्तो छ राम्ररी अध्ययन हुनु जरुरी छ ।
७. फरक फरक क्षेत्रमा लगानी गर्नुहोस्
फरक फरक क्षेत्रमा लगानी गर्नु निकै कम जोखिममा उल्लेख्य फाइदा कमाउने एक अर्को महत्वपूर्ण तरिका हो । कति धेरै क्षेत्रमा लगानी गर्ने भन्ने कुरा लगानीकर्ताको जोखिम बहनको क्षमतामा भर पर्छ ।
८. बजारको मूल्य गणना गर्ने प्रयास नगर्नुहोस्
सेयर बजारमा लामो समयदेखि लगानी गर्दै आएका मानिसले पनि बजारको भाउ यो समयमा यहाँ पुग्छ भनेर भन्न सक्दैनन् । वित्तीय योजना बनाउनेले पनि यस्तो गणना नगर्न सुझाउँछन् । यसरी मूल्यको गणना गर्ने क्रममा मानिसहरुले आफूले पाउने रकम पनि गुमाउन पुग्छन् ।
९. अनुशासित लगानीको अवधारणा पालना गर्नुहोस्
सेयर बजारमा सही तरिकाले प्रक्रियागतरुपमा सही बजारमा लगानी गरी उक्त लगानीलाई लामो समयसम्म राख्न सक्ने मानिसले अप्रत्याशित नाफा आर्जन गर्न सक्छन् । त्यसैले दीर्घकालीन लगानीलाई ध्यानमा राख्दै धैर्य गरेर अनुशासित लगानीको अवधारणाको अनुशरण गर्नुहोस् । एजेन्सीको साथमा ।