बागडोल र सुनाकोठीमा निःशुल्क आइसोलेशन

सहयात्रा टिभी

ललितपुर । जेठ १७, ललितपुर महानगरपालिका–२६ सुनाकोठी र वडा नं ४ बागडोलमा निःशुल्क आइसोलेशनको सुविधा दिइएको छ ।

ललितपुरमा बस्ने आर्थिक अवस्था कमजोर भएका तथा संयुक्त परिवारमा रहँदा बिरामीका लागि छुट्टै कोठा अनि शौचालयको प्रयोग गर्न सम्भव नभएका मानिसलाई दृष्टिगत गरी सुनाकोठीस्थित पोषण पुनस्र्थापना गृह र बागडोलस्थित ज्यापू समाजको भवनमा विना शुल्क आइसोलेशनको सुविधा दिइरहेको महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जनाए ।

उक्त गृहमा ५० र समाजमा ११० गरी कूल १६० क्षमताको आइसोलेशन कक्षबाट बिरामीलाई निःशुल्क सुविधा दिइरहेको महर्जनले बताए ।

गृहमा आज मात्रै ३५ जनाले उपचार सेवा लिइरहेका नेपाल युथ फाउण्डेशनको कार्यकारी निर्देशक राजु धमलाले बताए । उनले भने, “यहाँ चार हाई डिपेनडेन्सी युनिट (एचडियु) को व्यवस्था गर्नाका साथै अक्सिजनसहित दुई मेडिकल अफिसर तहका चिकित्सकका साथमा आवश्यक स्वास्थ्यकर्मीले सेवा गरिरहनुभएको छ, हिजोसम्म करीब ११० ले उपचार सेवा लिएर गइसके ।”

यसैगरी उक्त क्षेत्रमा ३३ बिरामीले उपचार सेवा लिइरहेका ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले बताए ।

त्यसैगरी सो ठाउँमा उपचार गर्न आउने बिरामीमा मनोसामाजिक त्रास भेटिँदा परामर्शदाताको व्यवस्थासमेत गरिदिएको महानगरपालिकाले जनाएको छ ।

प्रकाशित : 31 May, 2021

प्रतिक्रिया दिनुहोस्