दरबार हत्याकाण्डको २० वर्ष पूरा, घटना अझै रहस्यमै

काठमाडौँ । जेठ १९, राजा वीरेन्द्रको वंशनास भएको ‘दरबाद हत्याकाण्ड’ को आज २० वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते रातीको समयमा नारायणहिटी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहसहित उनको वंशनास हुने गरी हत्याकाण्ड मच्चाइएको थियो ।
हत्याकाण्डमा राजा, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमारी श्रुती र अधिराजकुमार निराजन शाहको हत्या भएको थियो । उनीहरुसँगै दरबारका सदस्य तथा आफन्तहरुमध्ये दर्जनबढीले ज्यान गुमाएका थिए ।
उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारजस्तो संवेदनशील ठाउँमा देशको राजासहित राजपरिवारका सदस्यको हत्याको कारण अहिलेसम्म रहस्यमै छ । तत्कालीन छानविन समितिले युवराज दीपेन्द्रले आफ्नो परिवारका सबै सदस्यलाई गोली प्रहार गरेको र आफूले पनि टाउकोमा गोली हानेर निधन भएको निष्कर्ष निकाले पनि जनताले अहिलेसम्म त्यो तर्कलाई पत्याएका छैनन् ।
उदार छवीका कारण राजा वीरेन्द्र जनतामाझ निकै लोकप्रिय थिए । उनको हत्यापछि उनका भाइ ज्ञानेन्द्र शाह राजगद्धीमा आसीन भए पनि उनले नेपालको राजतन्त्रलाई लामो समयसम्म टिकाउनै सकेनन् ।
दरबार हत्याकाण्डले नै नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्रको बिऊ रोपेको एकाथरीको तर्क छ । राजा भएको ७ वर्षमै २०६५ जेठ १५ गते मुलुकमा राजतन्त्रको समाप्ति भयो । ज्ञानेन्द्र नेपालको शाहवंशीय अन्तिम राजा हुन् ।