काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो, के के गर्न पाइन्छ ?

काठमाडौँ । असार १, काठमाडौँ उपत्यकामा थप गरिएको निषेधाज्ञा आजदेखि लागू भएको छ । आजदेखि असार ७ गतेसम्म थप गरिएको निषेधाज्ञालाई यसअघिको भन्दा केही खुकुलो बनाइएको छ ।
आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्लाहरूको बैठकले सर्वसाधारणहरूका लागि निषेधाज्ञा केही खुकुलो बनाएका हुन् ।
खाद्यान्न फलफूल र पुस्तक पसल खोल्ने समय पनि थपिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए । ‘११ बजेसम्म पसल खोल्ने समय थपिएको छ,’ उनले भने,’ ४ बजेदेखि हार्डवेयर र मोबाइलसमेत पसल खोल्न पाइने भएको छ ।’ होटल तथा रेष्टुरेन्टबाट ७ बजेदेखि होम डेलिभरी गर्न पाइने व्यवस्था गरिएको उहाँले जानकारी दिए ।
बैठकले अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिद गर्न घरबाट बाहिर निस्कन सक्ने निर्णय गरेको छ । त्यस्तै घर बाहिर निस्कँदा कम्तीमा २ मिटरको भौतिक दूरी कायम राख्नु पर्ने निर्णय गरेको छ । त्यस्तै अब सहकारी संस्था तथा रेमिटहरू आइतबार र बिहीबार मात्र खुल्ने भएको छ ।
त्यस्तै विवाह तथा व्रतबन्धको हकमा बढीमा ७ जनासम्म सहभागी हुन पाइनेछ । विवाह आफ्नो घर वा बसेको स्थानमा गर्न पाइनेछ । विवाह तथा व्रतबन्धको हकमा एउटा सवारी साधन (बेहुला/बेहुलीसहित) व्यानरका आधारमा आवतजावत गर्न पाइनेछ ।
उपत्यकामा कोभिड-१९ को संक्रमणको तीव्र रुपमा फैलिएपछि पहिलो चरणको निषेधाज्ञा वैशाख १६ गतेदेखि लागू भएको थियो ।