देशभर मनसुन सक्रिय : पाँच प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना

काठमाडौँ । असार १, मनसुन सक्रिय भएसँगै देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भएको छ ।
मनसुनी वायुको प्रभावले आज पाँच वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश न.२, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।
हाल गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
यो क्रम बिहीबारसम्म नै कायम रहने महाशाखाले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
भारी वर्षाको अनुमानसँगै महाशाखाले सतर्कता अपनाउन पनि आह्वान गरेको छ ।
‘देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश-२, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना देखिएकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।