पहिरोका कारण लोकमार्ग र बेनी मालढुङ्गा सडक अवरुद्ध

काठमाडौं । असार १, लगातार परेको वर्षाका कारण कुश्मा नगरपालिका–१ सहस्रधारामा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत–बागलुङ खण्ड गए रातिदेखि अवरुद्ध बनेको छ ।
वर्षा रोकिएलगत्तै खुलाउन प्रयास गरिने ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ । जलजला गाउँपालिका–८ नाङ्लीवाङको फर्से, वडा नं ७ को केराबारी र वडा नं ३ को लामाखेतमा पहिरो जाँदा सडक अवरुद्ध भएको ट्राफिक प्रहरी प्रमुख कृष्ण थापाले बताए ।
सडक बन्द हुँदा बाग्लुङ, म्याग्दी र मुस्ताङबाट छुटेका मालवाहक सवारी, एम्बुलेन्सलगायत खाद्यान्न र बिरामी बोकेका सवारी साधन अलपत्र बनेका छन् भने अन्यत्रबाट आएका सवारी साधनसमेत पर्वतको सहस्रधारामा अलपत्र बनेका छन् ।