नयाँ शैक्षिक सत्र सुरु, मुलुकभर भर्ना अभियान

सहयात्रा टिभी

काठमाडौं । असार १, आजबाट देशभरका विद्यालयहरुमा नयाँ शैक्षिक सत्र सुरु भएको छ ।

आजबाट देशभर विद्यार्थी भर्ना अभियान शुरु गर्ने तथा साउन १ गतेबाट पढाइ सुरु गर्ने तयारी गरीएको छ ।

सामुदायीक विद्यालय व्यवस्थापन महासंघका अध्यक्ष कृष्ण थापाले भने, ‘मूल्यांकन गर्न बाँकी रहेका एसईई सहितको नतिजा विद्यालयले सम्बन्धित इकाइमा बुझाइसकेपछि साउन एक गतेदेखि पठनपाठन शुरु गर्ने कार्यतालिका बनेको छ ।’

कोरोना महामारीका कारण नियमित नयाँ शैक्षिक सत्र दुई महिनापछि धकेलिएर असार १ गतेदेखि शुरु भएको हो ।

एउटा शैक्षिक सत्रमा न्यूनतम १८० दिन अर्थात् एक हजार घन्टा पढाउनुपर्छ भने सार्वजनिक बिदा, साप्ताहिक बिदाबाहेक करिब दुई सय दिन विद्यालय सञ्चालन हुन्छ ।

यही भर्ना अभियानको समयावधि भित्र विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराइसक्नुपर्ने छ । स्थानीय तहहरुले विद्यार्थीको मूल्यांकन नतिजा सार्वजनिक गर्न र भर्ना अभियान सन्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिइसकेका छन् ।

 

 

 

 

प्रकाशित : 15 June, 2021

प्रतिक्रिया दिनुहोस्