श्रमिकलाई १० दिन होटल क्वारेन्टिन खर्च सरकारले दिने

सहयात्रा टिभी

काठमाडौँ । असार ३, वैदेशिक रोजगारीमा जानेलाई सरकारले १० दिनको होटल क्वारेन्टिन खर्च उपलब्ध गराउने भएको छ ।

कोभिड १९ व्यवस्थापन निर्देशक समितिको बुधबार बसेको बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो । कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ ।

बैठकले संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्ति सहित ‘स्मार्ट लक डाउन’तर्फ जाने निर्णयसमेत गरेको छ । अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्यांकन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइ केही क्षेत्र खुल्ला गरिनुपर्ने समितिको निष्कर्ष छ ।

प्रधानमन्त्री एवं समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेशिया जस्ता देशहरुमा हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको छ । यी देशहरुबाट सातामा दुई हजार जना यात्रु भन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुनेछन् ।

यसैगरी गैरआवासीय नेपालीहरुले पठाउन लागेको अक्सिजन सिलिन्डर ल्याउन हवाई ढुवानी भाडा सरकारले उपलब्ध गराउने एवं इजरायल सरकारले सहयोग स्वरुप दिन लागेको सघन उपचारमा प्रयोग हुने सामग्री स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले स्वास्थ्य मापदण्डमा कडाइ गर्दै लकडाउनलाई सक्रमणको जोखिम नहुने हदसम्म मात्र खुकुलो गर्न सकिने बताएका थिए ।

कोभिड नियन्त्रणका लागि सबै भन्दा महत्वपूर्ण र अनिवार्य कुरा खोप नै भएको भएकाले चीनबाट ४० लाख डोज खोप ल्याउन गृहकार्य भइरहेको र साउनदेखि लगाउन थालिने उनले बताए ।

प्रकाशित : 17 June, 2021

प्रतिक्रिया दिनुहोस्