उपत्यकामा थप खुकुलो पार्दै निषेधाज्ञा थप्ने तयारी, तीन जिल्लाका प्रजिअको बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौँ । असार ६, काठमाडौँ उपत्यकामा अझ खुकुलो प्रावधानसहित निषेधाज्ञा थप्ने तयारी भएको छ ।

काठमाडौँको भद्रकाली क्षेत्रमा सुरक्षाकर्मीको चेकिङ । फाइल तस्वीर

यसका लागि आज काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दैछ ।

सरकारले गत बुधबार निषेधाज्ञाको मोडल परिवर्तन गर्दै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लकडाउन’ तर्फ जाने निर्णय गरेकाले त्यसैलाई आधार मानेर अघि बढ्ने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

काठमाडौँ उपत्यकामा संक्रमण घट्दै गएकाले अब यसअघि प्रतिबन्ध लगाइएका सबैजसो पसललाई निश्चित समय वा फरक/फरक बार अनुसार सञ्चालन गर्न दिने तयारी भएको छ । यस्तै यातायातमा जोरबिजोर लगाउने, सरकारी कार्यालय सातामा दुई दिन बिदा दिनेजस्ता निर्णय हुन सक्ने प्रजिअ पराजुलीले बताए ।

काठमाडौँ उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा पटक/पटक थपेर असार ७ गतेसम्म पुर्‍याइएको छ ।

प्रकाशित : 20 June, 2021

प्रतिक्रिया दिनुहोस्