देशका अधिकांश भागमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ । असार १७, देशभर सामान्यदेखि पूर्ण बदली रही काठमाडौँ उपत्यकासहित विभिन्न ठाउँमा वर्षा भइरहेको छ ।
देशभर मनसुनी वायु सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल तराई भूभाग नजिक मनसुनी न्यून चापिय रेखा रहेको छ ।
प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भई एक/दुई स्थानमा मेघगर्जन/ चट्याङ्गसहित भारी वर्षा भईरहेको छ । बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भईरहेको छ ।
प्रदेश १, २, वाग्मती र गण्डकीमा बुधबार रातिदेखि वर्षा शुरू भएको हो । केही ठाउँमा भारी वर्षा भएको छ भने धेरै ठाउँमा सामान्यदेखि भारी वर्षा भएको छ ।
मध्यमदेखि भारी वर्षा शनिबारसम्मै कायम रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा शनिबारसम्मै भारी वर्षा हुनेछ ।
आज दिउँसो र राति पनि अधिकांश स्थानमा भारी वर्षा हुने भएकाले तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने केही कम पानी पर्ने महाशाखाद्वारा जारी सूचनामा उल्लेख छ । पश्चिमी क्षेत्रमा पानी कम परे पनि मौसम भने देशैभर पूर्ण रुपमा बदली भएको महाशाखाले जनाएको छ ।
धेरै वर्षा हुने क्षेत्रमा बिहीबार, शुक्रबार र शनिबार चट्याङ पर्ने सम्भावना पनि रहेकोले सतर्क रहन आग्रह गरिएको छ । यी क्षेत्रमा भारी वर्षाका नदीको सतह बढ्ने, बाढीपहिरो आउनसक्ने सम्भावनासमेत रहेको भन्दै महाशाखाले सचेत गराएको छ ।