भक्तपूरको राधेराधे चोकमा रहेको वेवारिसे भवनको कथा

सहयात्रा टिभी

काठमाडौं । असार १८, भक्तपूरको राधेराधे चोकमा रहेका वेवारिसे भवन वर्षौदेखि ठडिएको भए तापनि ‘फिनिसिङ’ भने हुन सकेको छैन ।

सो भवनको निर्माण कम्पनी सौरभ समूहको भगीनी संस्था शुभश्री जगदम्बा डेभलपर प्रालि हो । आवासीय अपार्टमेन्टको लागि भनेर उपत्यका विकास प्राधिकरणबाट निर्माणको स्वीकृति पाएको भवनको नाम ‘न्यौपाने टावर्स’ हो ।

भक्तपूरको मध्यपुर थिमि नगरपालिकास्थित अपार्टमेन्ट निर्माणका लागि शुभश्री जगदम्बा डेभलपरले प्राधिकरणबाट १३ तल्लाको स्वीकृति पाएको थियो । तर, पछि थप गरेर १७ तल्ला पुर्याइएपछि प्राधिकरणले स्पष्टिकरण सोध्यो । फलस्वरुप आकृति मात्रै ग्रहण गरेको भवनले पूर्णता पाउन सकेन ।

१७ तल्लाका लागि ‘फार’ मा त्रुटि पाईएको नगरपालिकाको तर्क छ । प्राधिकरणको भक्तपूर कार्यालयले भने नगरपालिकाबाट स्वीकृति भएको जानकारी नआएको बताएको छ । प्राधिकरण भक्तपूर कार्यालयका सूचना अधिकारी गणेशराम कोजुका अनुसार एक पटक फुकुवा गर्ने सम्बन्धमा नगरपालिकाका प्रतिनिधिसहित प्राधिकरणको बोर्डमा छलफल पनि भएको थियो ।

नगरपालिकाले भवन निर्माण मापदण्ड अनुसार फार नपुग्ने भनेपछि कम्पनीले जोडिएको थोरै जग्गा किनेर फार पुग्ने भन्दै अर्को निवेदन पनि दिएको भन्ने सुनिएको तर, त्यसबारे छलफल भएको जानकारी प्राधिकरणमा नआएको प्राधिकरणको भनाई छ ।

 

प्रकाशित : 2 July, 2021

प्रतिक्रिया दिनुहोस्