निषेधाज्ञा खुकुलो बनाएसँगै कोरोना संक्रमण दर फेरि बढ्यो

काठमाडौं । असार २४, निषेधाज्ञा खुकुलो बनाएसँगै जनस्वास्थ्यका मापदण्ड नअपनाउँदा कोरोना संक्रमण दर विस्तारै उकालो लागेको छ ।
बुधबार ७ हजार ८ सय ३५ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ७७ जना अर्थात् २६.५० प्रतिशतमा संक्रमण पुष्टि भएको छ । आइतबार २१.३६, सोमबार २३.२६ र मंगलबार २२.८९ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो ।
विज्ञहरूका अनुसार बहुसंख्यक नागरिकलाई खोप नपुर्याउँदा, परीक्षण र कन्ट्याक्ट ट्रेसिङ विस्तार नहुँदा र संक्रमितलाई आइसोलेसनमा व्यवस्थित गर्न नसक्दा संक्रमण दरमा कमी नआएको हो ।
‘१०–२० जनामा संक्रमण देखिए देशभर फैलिन सक्ने स्थितिमा अझै दिनहुँ करिब दुई–तीन हजारमा संक्रमण देखिन थालेको छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले भने, ‘निषेधाज्ञाताका घरभित्रै परिवारबीच रहेको भाइरस हाल खुला भएर समाजमा पुनः फैलिन थालेको छ ।’ सरकारले कन्ट्याक्ट ट्रेसिङ नगर्दा समस्या देखिएको उनले बताए । ‘कन्ट्याक्ट ट्रेसिङ गर्दा धेरै जना पोजिटिभ निस्किन्थे । जसलाई आइसोलेसनमा बसाउँदा समाजमा संक्रमण फैलने र बढ्ने सम्भावना घट्थ्यो,’ उनले भने ।
–कान्तिपुर दैनिक