नेपाली साहित्यकार विश्व सञ्जालद्धारा २०८ औँ भानु जयन्तीको अवसरमा विश्व कविता प्रतियोगिता – २०७८ तथा रचना वाचन कार्यक्रम सम्पन्न

काठमाडौं । असार ३१, २०७८ असार २९ गते बिश्वभर छरिएर रहेका नेपाली भाषी साहित्यकारहरूलाई नेपाली साहित्यकार नामक संजालले फेसबुक मार्फत यौटै छाता मुनी जोडेर नेपाली भाषा साहित्य, कला र सँस्कृतिको विकासका लागि सिर्जना र सर्जकको सम्मानको संस्कार पुस्तान्तरण गर्न सहयोग गरिरहेको छ।
यसै क्रममा आइतवार मात्रै भानुभक्तका पुस्ता माझ विचार विमर्श गोष्ठी गरेर ऐतिहासिक काम गरेको संजालले मंगलवार विश्वव्यापी कविता प्रतियोगिता – २०७८ का साथै सम्मान र रचना वाचन गरेर भव्य रुपमा मनाएको छ।
कार्यक्रमको सभाध्यक्षता गरेका कार्यक्रम संयोजक तथा सहजकर्ता कवि तथा गजलकार स्पन्दन विनोदले दुई शत्रमा कार्यक्रम चलाएका थिए।
वरिष्ठ साहित्यकार मुकुन्दशरण उपाध्यायको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार प्रो. डा. कृष्ण प्रसाद दाहाल र वरिष्ठ साहित्यकार तथा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी विशिष्ठ अतिथि रहेका थिए।
त्यस्तै नेपाली राष्ट्रिय गानबाट शुरु गरिएको उक्त कार्यक्रम २०८ औँ भानु जयन्तीको अवसरमा भानु प्रति श्रद्धा पुष्प अर्पण गरिएको थियो। कार्यक्रम संयोजन सहयोगी कवि कमला महतले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमलाई कवि कुमार शर्माले प्रविधिक सहयोग गरेका थिए।
कार्यक्रमको पहिलो शत्रमा विश्वव्यापी कविता प्रतियोगितामा छनोटमा परेका उत्कृष्ट ३० कविहरूले कविता वाचन गरेका थिए भने दोश्रो शत्रमा नेपाली साहित्यकार विश्व सञ्जालको पाठशालामा अभ्यासरत कविहरूले कविता वाचन गरेका थिए।
वरिष्ठ साहित्यकार प्रियम्बदा काफ्ले, वरिष्ठ साहित्यकार कलानिधि दाहाल, र वरिष्ठ साहित्यकार हरिप्रसाद रिमाल रहेको निर्णायक टोलिले कविताबाट ७५% र वाचनबाट २५% गरेर निर्णय आयोजकलाई दिएका थिए।
प्रतियोगिताबाट कवि कल्पना काफ्ले (नेपाल) प्रथम, कवि कोमल भट्ट (अमेरिका) द्वितीय, कवि रत्न विरही घिमिरे (नेपाल) तृतीय पुरस्कार प्राप्त गर्न सफल भए भने देवी प्रसाद मिश्र (नेपाल) र इन्द्र नारायण सुवेदी (नेपाल) सान्त्वना पुरस्कार प्राप्त गरेका थिए।
अमेरिकाका सफल व्यवसायी सन्दीप चौधरीद्वारा प्रायोजित प्रथम पुरस्कारको राशी २००$, अमेरिकामै बसोवास गरेका वरिष्ठ साहित्यकार तथा अनेसास विओटी कोषाध्यक्ष राम लामा अविनाशीद्धारा प्रायोजित दोस्रो पुरस्कारको राशी १५०$, वरिष्ठ साहित्यकार तथा अनेसास विओटी उपाध्यक्ष पुरुषोत्तम सुवेदी (पुरु सुवेदी) द्धारा प्रायोजित तेस्रो पुरस्कारको राशी १००$ र फ्लोरोसेन्ट माध्यमिक विद्यालय गोंगबु, बानियाटार टोखा, फोन नं. ०१– ४९६१७३३ काठमाण्डौद्वारा प्रायोजित सान्त्वना पुरस्कारको राशी ५०$/५०$ रहेको थियो ।
कार्यक्रममा पुरस्कार प्रायोजकहरूलाई भानु जयन्ती प्रोत्साहन सम्मान – २०७८, निर्णायकहरूलाई भानु जयन्ती साधना सम्मान – २०७८, उपस्थित कविहरूमा भानु जयन्ती सिर्जना सम्मान – २०७८ द्वारा सम्मान गरिएको थियो। यसै गरि राजकुमार पण्डित, “गणेश पण्डित स्मृति प्रतिष्ठान” र कमला महत “गणेश पण्डित स्मृति प्रतिष्ठान”द्धारा नेपाली साहित्यकार विश्व सञ्जालको पाठशालामा अभ्यासरत कविहरूलाई प्रोत्साहन स्वरुप, प्रोत्साहन पुरस्कार जनही २५$ र भानु जयन्ती सिर्जना सम्मान –२०७८ सहित चार कविहरूलाई पुरस्कृत गरेका थिए। जसमा अनु विज्ञाति, शुषमा अंशु, मन्दा पौडेल र अम्बिका खरेल उप्रेती पुरस्कृत भएका थिए। करिब ६ दर्जन कविहरूको प्रत्यक्ष सहभागिता रहेको उक्त कार्यक्रम ६ घण्टाभन्दा बढी चलेको थियो।
यस्ता कार्यक्रमहरूले नेपाली भाषामा साहित्य सिर्जना गर्ने जो कोहीलाई पनि केही भए पनि ऊर्जा थप्ने भएका कारण यस्ता कार्यहरूलाई आगामी दिनमा निरन्तरता दिने नेपाली साहित्यकार विश्व सञ्जालका परिकल्पनाकार कवि तथा गजलकार स्पन्दन विनोदले जानकारी दिए।