केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मुलुकमा संकटको बादल, राजनीतिक कोर्स फेरिन सक्ने

सहयात्रा टिभी

बैशाख १८, २०७४ । आइतबार नाटकिय रुपमा भएका राजनीतिक घटना र केही निर्णयले मुलुक गम्भीर संकटमा पर्न थालेको स्पष्ट भएको छ । एकाएक प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग, सोही दिन नेपाल प्रहरीका पूर्व महानिरीक्षकलाई भ्रष्टाचारी ठहर गरी जेल चलान, उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिको रहस्यपूर्ण राजीनामा, हतारहतारमा वरिष्ठ न्यायाधीश गोपल पराजुलीलाई कार्यवाहक लगायतका घटनाले मुलुक सहज अवस्थामा छैन भन्ने प्रष्ट भएको छ । बिहान संविधान संशोधन बिधेयक पारित गर्ने सरकारको तयारी थियो । संशोधनमा दुइ तिहाइ नपु्ग्ने स्थिति आएपछि बैठक बैशाख २१ गतेसम्मका लागि स्थगित गरिएको थियो । एकाएक दिनभरीमा अनपेच्छित घटना भए । प्रधानन्यायाधीशलाइ महाअभियोग लगाउने प्रस्तावको सत्तारुढ दल राप्रपाले नै विरोध गरेको छ । आज बस्ने केन्द्रीय समितिको आकस्मिक बैठकले सरकारबाट फिर्ता हुने निर्णय गर्ने संकेत प्राप्त भएको छ । महाअभियोग लगाउने कुरा उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिलाइ नै थाहा नहुनु सरकार भित्रको अर्को रहस्यपूर्ण घटना हो । प्रहरी महानिरीक्षक नियुक्तिको विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री निधिबीच विवाद चुलिएको थियो । एकाएक सभापति देउवाको विश्वास गुमाएका निधि पछिल्लो समय वरियता विवादका कारण मन्त्रिपरिषद्का थुप्रै बैठकमा पनि सहभागी भएनन । आफै सहभागी सरकारमा माओवादीले बिपक्षी एमालेसंग मिलेर तत्कालिन अख्तियार प्रमुख लोकमानसिंह कार्कीबिरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउँदा मौन बस्ने निधिले एकाएक राजीनामा दिनु केवल महाअभियोग प्रस्तावप्रतिको बिमति मात्र होइन, उनको प्रधानमन्त्री दाहाल र सभापति देउवासंगको चरम असन्तुष्टि पनि हो । यी घटनाले सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनलाइ संकटमा मात्र पारेको छैन, मुलुकमै नयाँ राजनीतिक व्यवस्था वा नयाँ राजनीतिक कोर्स सुरु हुनसक्ने सम्भावनालाइ पनि सतहमा ल्याएको छ ।

प्रकाशित : 1 May, 2017

प्रतिक्रिया दिनुहोस्