आगामी माघ सम्ममा मूल्यवृद्धि दर दोब्बर हुने अनुमान

सहयात्रा टिभी

काठमाडौं । साउन ४, चालु आर्थिक वर्षमा सरकारले मूल्यवृद्धि दर साढे ६ प्रतिशतभित्र राख्ने लक्ष्य राखे तापनि उपभोक्ताले आगामी माघ सम्ममा मूल्यवृद्धि दर १० प्रतिशत पुग्ने अनुमान गरेका छन् ।

नेपाल राष्ट्र बैंकले गरेको उपभोक्ताको मूल्य अपेक्षासम्बन्धी अध्ययनमा उपभोक्ताले मूल्यवृद्धि दर सरकारले राखेको भन्दा निकै बढी हुने जनाएका छन्।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षदेखि त्रैमासिक उपभोक्ता मूल्य अपेक्षा सम्बन्धी त्रैमासिक प्रतिवेदन पनि प्रकाशित गर्ने तयारी स्वरुप पहिलो सर्वेक्षण गरेको जनाएको छ । सर्वेक्षणमा सातै प्रदेशका प्रमुख सहरमा बसोबास गर्ने ४८२ व्यक्तिसँग प्रत्यक्ष अन्तर्वार्ताका माध्यमबाट मूल्यवृद्धि सम्बन्धी अपेक्षा संकलन गरिएको थियो ।

सर्वेक्षणमा सहभागीमध्ये ९४ प्रतिशतले एक वर्षभित्र मूल्यवृद्धि दर १० प्रतिशत पुग्ने बताएका हुन् । सर्वेक्षणमा तीन महिनामा मूल्य बढ्ने अनुमान गर्ने उत्तरदाताको संख्या ८६.९ प्रतिशत र एक वर्षमा मूल्य बढ्ने अनुमान गर्ने उत्तरदाताको संख्या ९४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार, चालु आर्थिक वर्षको जेठमा उपभोक्ता मुद्रास्फीति ४.१९ प्रतिशत रहेको छ । यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.२२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.६३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । एजेन्सीहरुको साथमा ।

प्रकाशित : 19 July, 2021

प्रतिक्रिया दिनुहोस्