बैङ्कको ह्याकिङ गरी पैसा झिक्ने सम्बन्धमा कुनै पनि इमेल नआएको राष्ट्र बैङ्कले प्रष्ट

काठमाडौं । साउन ७, राष्ट्र बैङ्कसहित १५ वटा बैङ्कको ह्याकिङ गरी पैसा झिक्ने सम्बन्धमा कुनै इमेल नआएको राष्ट्र बैङ्कका सहायक प्रवक्ता नारायण प्रसाद पोखरेलले प्रष्ट पारेको छ ।
त्यस्तै सामाजिक सञ्जालमा भने कुनै समूहले राष्ट्र बैङ्कसहित अन्य १४ वटा बैङ्कले सिस्टम ह्याक गरी पैसा झिक्ने चेतावनी दिइएको छ । उक्त समूहले सामाजिक सञ्जालमा जारी गरेको सूचनामा नेपाल राष्ट्र बैङ्क, कुमारी बैङ्क, नेपाल बैङ्क, नबिल बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, माछापुच्छ्रे बैङ्क, एनएमबि बैङ्क, एनआइसी एशिया बैङ्क, बैङ्क अफ काठमाण्डू, सिटिजन्स बैङ्क इन्टरनेशनल, सानिमा बैङ्क, नेपाल एसबीआई, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट र हिमालय बैङ्कको नाम उल्लेख गरी ती बैङ्कको सिस्टम ह्याक गरेर रकम निकाल्ने बताइएको छ ।
सहायक प्रवक्ता पोखरेलका अनुसार उक्त समूहले इमेल नै लेखेर धम्की दिएको नभई सामाजिक सञ्जालमा यी बैङ्कहरुको सिस्टम ह्याक गरेर पैसा निकाल्न लागेकोबारे धम्की दिँदै स्टाटस भने पोष्ट गरेका थिए ।
सहायक प्रवक्ता पोखरेलका अनुसार फेसबुक, भाइबर लगायतका सामाजिक सञ्जालमा यस्ता म्यासेज आएपछि बिहानै राष्ट्र बैङ्कका सूचना प्रविधि विज्ञहरुले आफ्नो सिस्टम चेक गरेका थिए । तर आफ्नो सिस्टममा कुनै खराबी नभएको र धम्की आएको भनिएका बैङ्कहरुको प्रणालीमा पनि कुनै समस्या नरहेको पोखरेलले बताए ।
धम्की कुन देशबाट कसरी आयो भन्ने बारेमा स्पष्ट नपारेपनि अमेरिकी नम्बरको प्रयोग गरेर भाइबर, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत् फोन र म्यासेज आएको हो ।