आर्थिक वर्ष २०७७/७८ मा डिडिसीको ६० हजार लिटर घ्यू निर्यात

सहयात्रा टिभी

मकवानपुर । साउन ८, नेपाल सरकारको स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थानको हेटौँडा दुग्ध वितरण आयोजनाद्धारा उत्पादित ६० हजार लिटर घ्यू आर्थिक वर्ष २०७७/७८ मा दक्षिण कोरिया, जापान र अष्ट्रेलियामा निर्यात भएको छ।

घ्यूको माग अत्यधिकरूपमा बढ्दै गएको आयोजना प्रमुख जोशीको भनाइ रहेको छ। २०३० वैशाखमा डेनिस सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा स्थापना भएको उक्त आयोजनाबाट दैनिक २५ हजार लिटर दूध मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाहीबाट सङ्कलन भइरहेको छ। त्यस्तै‚ आयोजनाले ६ हजार दुग्ध कृषक घरपरिवारको १६४ दुग्ध उत्पादक सहकारी संस्था र सात चिस्यान केन्द्रमार्फत आर्थिक वर्ष २०७७/७८ मा ५८ लाख लिटर दुग्ध खरिद गरी ३२ करोड रुपैयाँ भुक्तानी गरेको जनाएको छ। त्यहाँबाट उत्पादित दूध, दही, पनिर, आइसक्रिम र पेडालगायतका सामग्री वीरगञ्ज, हेटौँडा र नारायणघाटमा थोक तथा खुद्रा पसलमा बिक्री हुने गरेको छ।

त्यस्तै‚ फ्रेसमिल्क एक हजार ५०० बोतल प्रतिसिफ्ट, पेडा ३६० प्याकेट प्रतिदिन र लालमोहन ९०० प्याकेट प्रतिदिन उत्पादन हुने गरेको आयोजनबाट उपलब्ध तथ्यांकमा जनाइएको छ। ११७ कर्मचारी रहेको उक्त आयोजनाअन्तर्गत तीनवटा डिस्ट्रिब्युटर, २८ डिलर र १९७ बिक्री बुथ रहेको छ। हाल आयोजनाको हातामा १०० मेट्रिक टन क्षमता भएको बटर कोल्ड स्टोर निर्माण गरिएको छ।

 

प्रकाशित : 23 July, 2021

प्रतिक्रिया दिनुहोस्