६ महिनाअघि हराएका तीन बालबालिकाको सकुसल उद्धार

सहयात्रा टिभी

बाँके । साउन ११, जिल्लाका कोहलपुरबाट ६ महिनाअघि हराएका तीन बालबालिकालाई भारतको बरेलीबाट उद्धार गरिएको छ।

कोहलपुर–४ का वडाध्यक्ष तीर्थराम थारूका अनुसार उद्धार गरिएका बालबालिकामा ११ वर्षीय रोशन वादी, सात वर्षीय विशाल वादी र पाँच वर्षीया पूजा वादी छन्।

रुपन्देहीस्थित ‘मानवकल्याण मित्र मञ्च’ नामक संस्थाका समन्वयमा उद्धार गरिएका ती बालबालिकालाई आज (सोमबार) परिवारको जिम्मा लगाइँदै छ।

त्यस्तै ६ महिनाअघि कोहलपुरबाट हराएका बालबालिका नेपालगञ्जस्थित जमुनाह नाका हुँदै रुपैडिहामा पुगेका जनाइएको छ। त्यहाँबाट भारतीय ट्रकमा बसेर बरेली पुगेका हुन्। बरेली पुग्नुभन्दा दुई–तीन किलोमिटर वरै ट्रकले बालबालिकालाई झारिदिएपछि अलपत्र अवस्थामा सडकमा हिँडिरहेका उनीहरूलाई भारतीय प्रहरीले उद्धार गरेर स्थानीय संरक्षण संस्थाको जिम्मा लगाएको थियो।

 

प्रकाशित : 26 July, 2021

प्रतिक्रिया दिनुहोस्