भत्ताले बृद्धबृद्धालाई सास्ती, ‘मर्ने बेला सरकारले दुःख दियो’

काठमाडौं । साउन १५, सरकारले वृद्धवृद्धाको ‘सामाजिक सुरक्षा’का लागि भत्ता दिँदै आएको छ।
समयानुकूल बढाउँदै पनि लगेको छ। तर, त्यही भत्ता लिन बैंक पुग्दा कतिपय बुवा-आमाले भोग्ने सास्ती भने देखेको छैन।
गाउँतिर बैंक टाढा हुन्छ। हिँडेर जानुपर्छ। सबैको लिने याम एउटै हुन्छ। बैंक गयो, भीड हुन्छ। कोरोनाको यस्तो महामारीमा ठेलमठेल चल्छ। कसरी जोगिने, त्राहिमाम हुन्छ।
मकवानपुरको राक्सिराङ–७ काँकडाकी पातलीमाया चेपाङले गत कात्तिक पहिलो साता तीन दिन बैंकमा लाम लागेर भत्ता बुझिन्। उनी त्यसपछि भत्ता लिन गाउँपालिका केन्द्र चैनपुरस्थित बैंकमा गएकी छैनन्। काँकडास्थित गाईबाङबाट चितवनको भण्डारा हुँदै मकवानपुरकै मनहरी बजारबाट चैनपुर पुग्नुपर्छ।
तत्कालीन गाविस सचिवले घर–घरमा गएर भत्ता वितरण गर्दै आएका थिए। तर, नगद वितरण गर्दा सम्बन्धित व्यक्तिको हातमा नपरेको गुनासो बढेको भन्दै सरकारले बैंकमार्फत मात्र भत्ता दिने निर्णय गरेको हो। ‘पहिला नै सजिलो थियो। अहिले गाउँपालिका भएसी हामीले धेरै दुःख पायौं’, राक्सिराङ–१ भाबरकी ७७ वर्षीया ठूलीमाया मोक्तान भन्छिन्, ‘मर्ने बेला सरकारले दुःख दियो।’
गाउँपालिकाले बैंकलाई गाउँ–गाउँमा गएर भत्ता वितरण गर्न प्रस्ताव गरे पनि सम्भव नभएपछि यस्तो समस्या आएको अध्यक्ष राजकुमार मल्ल बताउँछन्।
उता, धनकुटा–९ मूलघाटस्थित विश्रान्ति मन्दिर वृद्धाश्रममा ४३ जना आश्रित छन्। त्यहाँ आश्रित १३ जनाले ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगता भत्ता बुझ्छन्। १०५ वर्षकी गंगामाया काफ्ले अशक्त छिन्। थला परेको वर्षौं भइसक्यो। मानसिक समस्या भएका अरू ३–४ जना छन्।
शारीरिक रुपमा अशक्त भएका कारण वृद्धाभत्ता लिन जान सक्ने अवस्थामा नरहेकी १०५ वर्षीया गंगामाया काफ्ले। उनीसहित ४३ जना धनकुटा–९ मुलघाटस्थित विश्रान्ति मन्दिर वृद्धाश्रममा आश्रित छन्। तस्बिर स् हरिबहादुर लम्जेल
उनीहरूको खाता धनकुटामा छ। बैंकका कर्मचारी गत वर्ष भत्ता लिएर आश्रममै पुगेका थिए। चार ज्येष्ठ नागरिकले नागरिकता राखेको ठाउँ बिर्सिएर तत्काल देखाउन नसक्दा उनीहरूले पाएनन्।
त्यसपछि पनि दुई किस्ता भत्ता आइसक्यो। तर, लिन गएका छैनन्। ‘ज्येष्ठ नागरिकलाई बैंकसम्म लैजान सक्ने अवस्था छैन’, विश्रान्ति मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन घिमिरे भन्छन्, ‘बैंकले सहज सुविधा नदिएका कारण ज्येष्ठ नागरिक दुःख पाइरहेका छन्।’
बैंकको शाखा रहेको स्थानबाट आश्रम १७ किलोमिटर दूरीमा छ। सो दूरी छिचोलेर अहिलेको कठिन परिस्थितिमा बैंकसम्म पुगेर भत्ता बुझ्न सक्ने सम्भावना नै नभएको उनी बताउँछन्।
–अन्नपूर्ण पोष्ट