पशुपतिनाथ मन्दिर क्षेत्रबाट तीन सय वर्ष पुरानो कामदेवको मूर्ति चोरी

काठमाडौं । साउन २२, पशुपतिनाथ मन्दिर परिसर पाटी नंं. २० स्थित पुरातात्विक महत्वको तीन सय वर्ष पुरानो कामदेव भगवान्को मूर्ति चोरी भएको छ ।
जयबागेश्वरी डठू टोलका स्थानीय जलद वैद्यका अनुसार पाटी नं. २० कामदेवको मूर्ति गत चैतसम्म सुरक्षित थियो ।
वैद्यका अनुसार पाटीसँग साँध जोडिएका घरधनी सन्तोष शर्माले गत चैतमा मूर्ति जडान गरिएको पर्खाल भत्काएका थिए । सो ठाउँमा शर्माले अहिले निजी कार पार्किङ गर्दै आएका छन् ।
मूर्ति भएको पाटीको जग्गा पनि स्थानीय सन्तोष शर्माले अतिक्रमण गरेका बताईएको छ ।
त्यस्तै बागमती प्रदेशका प्रदेश सांसद नरोत्तम वैद्यले पनि पाटी नं. २० को सार्वजनिक जग्गा मिचिएको र पर्खालमा जडान गरी राखिएको कामदेवको मूर्ति हराएको बताए । पशुपति क्षेत्र विकास कोषका अनुसार गत शिवरात्रिमा पनि पशुपतिनाथ मन्दिर प्रवेशद्वार नजिकैबाट धर्मचक्रको मूर्ति हराएको थियो ।