गैँडा तस्करी गरेको आरोपमा पक्राउ

चितवन । भदौ ८, चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारी खाग तस्करी गरेको आरोपमा विभिन्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको बताईएको छ।
गत साउन ३१ गते बाँदरझुला पोष्टको मर्दीघोल क्षेत्रमा भेटिएको गैँडाको खाग तस्कारी गरेको आरोपमा अनुसन्धानका क्रममा ती व्यक्ति पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–३ पाँचपाण्डवका ३५ वर्षीय नवीन पौडेल भन्ने मेखबहादुर नेपाली, जाजरकोटको शिवालय गाउँकार्यपालिका–२ डुङ्ग्रा बस्ने २७ वर्षीय वीरबहादुर बस्नेत, जिल्ला चितवन खैरहनी नगरपालिका–६ रिजालटोल २५ वर्षीय आरोष उप्रेतीलाई पक्राउ गरिएको हो।
त्यस्तै चितवनकै भतरपुर महानगरपालिका–२८ स्यालबास बस्ने ४९ वर्षीय रणबहादुर भनिने जीतबहादुर कुमालसमेत दुई जनालाई कारागारबाट झिकाई अनुसन्धान अघि बढाइएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए। अनुसन्धानकै क्रममा फरार प्रतिवादी रामकुमार प्रजा र बमबहादुर प्रजालाई पक्राउ गरिएको उनले बताए।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५ (१) (क) तथा २६(१) बमोजिमको कसुर अपराधमा सोही ऐनको दफा २६(१) बमोजिम सजायको माग दाबी गरिएको छ।