कैलालीमा भ्यान र अटोरिक्सा ठोक्किँदा तीन जनाको मृत्यु

कैलाली । भदौ १९, कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुरमा भएको सवारी साधन दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम रार्जमार्गमा गए राति भ्यान र अटोरिक्सा एकापसमा ठोकिँदा अटोरिक्सामा सवार तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा चार जना घाइते भएका छन् ।
पूर्वतर्फ गइरहेको म १ ज ३१९ नम्बरको भ्यान र कैलालीको सुख्खडबाट पश्चिमतर्फ आउँदै गरेको से १ ह २५१० नम्बरको अटोरिक्सा राति करिब ११ बजेतिर एकापसमा ठोक्किएका हुन् ।
दुर्घटनामा घोडाघोडी नगरपालिका–९ का २४ वर्षीय युवराज चौधरी, २६ वर्षीय भिगम चौधरी र १९ वर्षीय जितेन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतीक बिष्टले बताए ।
दुर्घटनामा घाइते भएका घोडाघोडी नगरपालिका ९ का दिपेन्द्र चौधरी, सोही ठाउँका अटो चालक सुरेश चौधरी, असान्त चौधरी र हरि चौधरीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।