देशभर भदौरे झरी, सातै प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । भदौ २१, मनसुन फेरि सक्रिय भएसँगै देशका अधिकांश भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यूनचापीय क्षेत्रको प्रभावका कारण वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
रातिदेखिको निरन्तरको वर्षाले काठमाडौँ उपत्यकाका खोला, नदीमा बाढी आएको छ । राम्रो ढल व्यवस्थापन नभएका काठमाडौँका कतिपय ठाउँ डुबानमा परेका छन् भने सडकमा ढल पस्दा जलमग्न भएको छ ।
महाशाखाका अनुसार अहिले प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भने मेघ गर्जन/चट्याङसहित भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।
राति गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थान र प्रदेश १, वाग्मती तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
देशका अधिकांश स्थानमा वर्षा भइरहेकाले पहिरो तथा गेग्रान बहावको जोखिम हुने, नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।