काठमाडौँका विभिन्न खोला तथा नदीमा बाढी, किनार आसपासका बस्ती डुबानमा

काठमाडौँ । भदौ २१, निरन्तरको वर्षाले काठमाडौँ उपत्यकाका खोला तथा नदीमा बाढी आउँदा किनार आसपासका विभिन्न क्षेत्रका बस्ती डुबानमा परेका छन् । सडकमा ढल पस्दा जलमग्न भएको छ ।
वाग्मती, विष्णुमति, इच्छुमति, धोबी खोला, बल्खु खोला, मनोहरा खोला, सामाखुशी खोलालगायत नदीमा बाढी आएको छ ।
बाढीका कारण काठमाडौंमा तीन सय ८२ घर डुबानमा परेका छन् । एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार अनामनगर, बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र डुबानमा परेका छन् ।
ती बस्तीका बासिन्दालाई जोखिम रहन सक्ने भन्दै सुरक्षित स्थानमा लगेर राखिएको हो । प्रहरीले कुनै मानवीय क्षति भने नभएको जनाएको छ ।