मौसम सुधार हुन आगामी आइतबारसम्म लाग्ने, अझै केही दिन भारी वर्षाको सम्भावना

काठमाडौँ । भदौ २२, मनसुन फेरि सक्रिय भएसँगै शुरु भएको वर्षा आगामी आइतबार अघिसम्म रोकिने सम्भावना न्यून रहेको मौसमविदले बताएका छन् । शनिबार साँझसम्म अधिकांश समय वर्षा हुने र दिउँसो केहीबेर रोकिने क्रम चलिरहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद निराजन सापकोटाले बताए ।
आइतबार बिहानेदेखि मौसम क्रमिक सुधार हुने उनको भनाइ छ । हाल उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको तथा पश्चिमी तराई नजिक मनसुनको न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्णतया बदली रहेको महाशाखाले जनाएको छ ।
प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा अहिले हल्का वर्षा भइरहेको छ । आज दिउँसो गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेमश १, वाग्मती तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
यसैबीच, आइतबार राति काठमाडौँ उपत्यकामा १८ वर्षपछि अति ठूलो वर्षा भएको छ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वर्षा मापन स्टेसनमा रेकर्ड भएअनुसार आइतबार राति १ सय २१ दशमलब ५ मिलिमिटर वर्षा भएको हो ।
१८ वर्षअघि सन् २००२ जुलाई २३ मा काठमाडौंमा १ सय ७७ मिलिमिटर वर्षा भएको थियो । त्यसअघि सन् १९८७ मा १ सय २४ दशमलब ४ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।