आज ५७ औं राष्ट्रिय बाल दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौं । भदौ २९, आज ५७ औं राष्ट्रिय बाल दिवस । देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ ।
दिवसमा बालबालिकाको अधिकार रक्षार्थ कार्यरत विभिन्न संघ संस्था तथा विद्यालयले अलग–अलग कार्यक्रम आयोजना गर्दैछन् ।
वि. सं २०२१ सालको भाद्र ४ गतेदेखि मनाउन शुरु गरिएको राष्ट्रिय बालदिवस २०६३ सालमा आएर भाद्र २९ गते मनाउन सुरु गरियो ।
इतिहासलाई फर्केर हेर्दा नेपालमा बालदिवसमा रत्नराज्य लक्ष्मीदेवी शाहले भारत भ्रमण गर्ने क्रममा भारतमा महात्मा गान्धीको जन्मदिनमा बालदिवस मनाउने गरेको र भारतका प्रभावशाली राजनेताद्वारा समाजसेवामा सक्रियताका साथ लागेको देख्नुभयो ।
त्यस्तै, नेपाल सरकारले भने हरेक बर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवस घोषणा गरी चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । हरेक वर्ष बाल दिवस मनाईदै आए पनि बालबालिकाको अवस्थामा खासै सुधार हुन सकेको छैन ।
यसैबीच महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बालअधिकार परिषद्ले संयुक्त रुपमा दुई दिनसम्म मनाइने बालदिबसको मुख्य आकर्षण सडक बालबालिका मुक्त राष्ट्र बनाउने अभियान अन्तर्गत सडकदेखि रंगशाला सम्म ‘स्ट्रिट टु स्टेडियम’ कार्यक्रम रहेको छ ।