कक्षा १२ को वार्षिक परीक्षा आजदेखि शुरु

काठमाडौँ । भदौ ३०, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा आजदेखि शुरु गर्दै छ । कोराना भाइरसका कारण यसअघि स्थगित गरिएको परीक्षा सञ्चालन गर्न लागिएको हो । परीक्षा असोज ८ गतेसम्म चल्ने छ ।
बोर्डका (कक्षा ११ र १२ हेर्ने ) परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले अधिकांश विद्यार्थीले कोरोनाभाइरसविरुद्ध खोप लगाइरहेका र सङ्क्रमण पनि विस्तारै नियन्त्रण हुने अनुमान गरी परीक्षा सञ्चालन गर्न लागिएको जानकारी दिए ।
परीक्षाका लागि आवश्यक सबै तयारी पूरा गरिएको जनाइएको छ । यसअघि साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरिएकोमा बोर्डले अन्तिम समयमा आएर स्थगित गरेको थियो । यस पटक तीन लाख ७४ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुने जनाइएको छ ।
परीक्षामा विद्यार्थीले होम सेन्टर (विद्यार्थीले अध्ययन गरेकै विद्यालय) मा परीक्षा दिने व्यवस्था मिलाइएको छ । परीक्षामा यस पटक चार हजार ३१५ वटा परीक्षा केन्द्र तय गरिएको छ ।
विद्यार्थीको उतरपुस्तिका संकलन गरी बोर्डले आफ्नै तरीकाबाट परीक्षण गर्ने जानकारी परीक्षा नियन्त्रक शर्माले जानकारी दिए । यसैबीच बोर्डले शैक्षिक सत्र खेर नजाने गरी आगामी मङ्सिर अन्तिम या पुसम्ममा नतिजा प्रकाशन गरिने जनाएको छ ।