आजदेखि भक्तपुरको मुपात्र जात्रा सुरु

सहयात्रा टिभी

भक्तपुर । असोज ६, इन्द्रजात्राका अवसरमा मनाइने भक्तपुरको मुपात्र जात्रा आज साँझदेखि सुरु हुने भएको छ ।

मुपात्र जात्रा भक्तपुरमा आश्विन कृष्ण द्वितीयादेखि चौथीसम्म तीन दिन मनाइन्छ ।

जात्रामा मुपात्र प्रमुख र धिःचा नामक अन्य दुई सहायकसहित तीन जनालाई राक्षसको पोशाक लगाई अनुहारमा विभिन्न रङले शृङ्गारपटारका साथ तरबार समात्न लगाई नगर पूरै परिक्रममा गराउने प्रचलन रहेको छ ।

जात्रा सुरु हुनुअघि स्थानीय सःकुलान टोलका मानन्धर समुदायले दत्तात्रयस्थित भीमसेन मन्दिर अगाडि एक जोडा याँमता (आकाश दीप) बालिन्छ । याँमता त्रिशूल आकारको हुन्छ । त्रिशूलमा जस्तै माथि फर्किएका तीनवटा टुप्पामा बालिने बत्ती नै याँमता अर्थात् आकाश दीप हो ।

जात्राको दोस्रो दिन बेलुका गोमारीको मानन्धर समुदायको याँमतासँगै चोछें टोलको छुमा गणेशको जात्रा गरिन्छ ।

जात्राको तेस्रो दिन अर्थात् आश्विन कृष्ण चौथीका दिन तमारीमा रहेको आकाश भैरवलाई गुठी संस्थान कार्यालयबाट विधिवतरूपमा बलिसहितको सरकारी पूजा गरिन्छ ।

भैरवको खट जात्रा गरेपछि स्थानीय लाकुलाछें टोलका समुदायले बाँसको मान्द्रोमाथि नीलो कपडाले छोपेर अगाडिको भागमा हात्तीको सुँढ राखी तयार गरिएको पुलुकिसी जात्रा सुरु गरिन्छ ।

 

 

प्रकाशित : 22 September, 2021

प्रतिक्रिया दिनुहोस्