समाज कल्याण परिषद्का पदाधिकारीले सामूहिक राजीनामा दिँदै

सहयात्रा टिभी

काठमाडौँ । असोज ८, समाज कल्याण परिषद्को वर्तमान पदाधिकारीहरूले सामूहिक राजीनामाको घोषणा गर्दै छन् ।

सरकारले परिषद्को कामप्रति देखाएको व्यवहारमा असन्तुष्टी जनाउँदै सामूहिक राजीनामा दिने निर्णय भएको परिषद्का सदस्य सचिव पुष्कर खातीले बताउनुभयो ।

१० जना पदाधिकारीमध्ये २ जना उपत्यकाबाहिर भएकाले हस्ताक्षर गर्न नपाएको र आज ८ जना पदाधिकारीले हरिहरभवन पुल्चोकस्थित परिषद्को सभा कक्षमा दिउँसो २ बजे पत्रकार सम्मेलनमार्फत राजीनामा घोषणा गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

परिषद् महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत पर्छ ।

राजीनामा दिन लागेका पदाधिकारीहरू केपी ओली नेतृत्वको सरकारको पालामा नियुक्त भएकाहरू हुन् ।

परिषद्को पदाधिकारीमा उपाध्यक्ष डा पदम प्रसाद खतिवडा, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्य सचिव पुस्कर खाती, बोर्ड सदस्यहरु नानीमैया नेपाल, गोविन्द बहादुर शाही सुशिल ज्ञवाली, बर्मा दोज गुरुङ मनिराम बन्जाडे, सञ्जय कुमार शाह हुनुहुन्छ ।

प्रकाशित : 24 September, 2021

प्रतिक्रिया दिनुहोस्