तिहारको विशेषताः कुन दिनको महत्व कस्तो ?

काठमाडौं । कार्तिक १७, नेपालीहरुको महान चाडपर्व वा हिन्दु धर्मावलम्बीहरुको दशैंपछिको अर्को ठूलो पर्व हो तिहार। यो पर्व कात्तिक कृष्णपक्ष त्रयोदशीका दिनदेखि शुरु हुन्छ। तिहार ५ दिनसम्म मनाइन्छ।
पहिलो दिन काग तिहार
कार्तिक कृष्ण त्रयोदशीका दिन कागको पूजा गरि कागतिहार मनाउने गरिन्छ । काग अत्यन्त चतुर र चलाख पंक्षी हो। काग सर्वभक्षी प्राणी हो। यसको पूजा गर्नुका विभिन्न कारण छन्। कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीरा फट्याङग्राहरू खाइदिन्छ। कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ ।
दोस्रो दिन कुकुर तिहार
त्यसैगरी कुकुर तिहार यमपञ्चकको दोस्रो दिन हो । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाइन्छ । जसका सम्बन्धमा विभिन्न धार्मिक एवं सामाजिक मान्यता रहँदै आएको छ । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुर यमराजको अर्को प्रियभक्त हो ।विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने काममा तथा अध्ययन अनुसन्धान गर्ने कार्यमा पनि हिजोआज कुकुरको प्रयोग गरिन्छ ।
तेस्रो दिन गाईतिहार र लक्ष्मीपूजा
गाई नेपालको राष्ट्रिय जनावर हो । यति मात्र होइन गाईलाई देवीका रुपमा पनि पुज्ने गरिन्छ । गाईको गहुँत र गोबर पनि हिन्दुधर्ममा पवित्र छ । यसर्थ पनि तिहारमा गाईको पूजा गरिएको हो । गाईलाई लक्ष्मीको प्रतिक मानिन्छ । गाईपूजा र लक्ष्मीपूजा एकैदिन मनाइन्छ। यसदिन साँझमा घरघरमा दीपावली गरिन्छ भने बेलुका भैलो खेल्ने गरिन्छ।
चौथो दिन गोरु तिहार
गोरु तिहार, हल तिहार वा गोवर्धन पूजाको रुपमा तिहारको चौथो दिन मनाइन्छ । पौराणिक कथन अनुसार गोवर्धन गोकुल शहर नजिकै रहेको एक पर्वत हो । कृष्ण भगवान गोकुलमा गोपालहरूसँग बस्दथे। गोपालहरू देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रबाट उनीहरूले केही पाउँदैनथे ।
अन्तिम दिन भाइटीका
यस दिन दिदीले भाइलाई र बहिनीले दाजुलाई तथा भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा मिष्ठान्न दिने दिदीबहिनीलाई दानदक्षिणा एवं वस्त्र दिने परम्परा छ। परापूर्वकालमा बहिनी यमुनाले यसैदिन दाजु यमराजलाई विशेष मानसम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्व छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ।