काठमाडौँ विश्वकै आठौँ प्रदूषित सहर, यी हुन् नेपालका ‘रेड जोन’ सहर

सहयात्रा टिभी

काठमाडौँ । ४ मंसिर, नेपालको राजधानी काठमाडौं विश्वकै प्रदूषित सहरको आठौँ नम्बरमा उक्लिएको छ ।

वायुको गुणस्तर मापन गर्ने युरोपेली संस्था आइक्युएयरको लाइभ अपडेटमा पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा छ । त्यहाँ वायु गुणस्तर सूचकांक पिएम-२.५ (पार्टिकुलेट म्याटर) को मात्रा प्रतिघन्टा ४०७ माइक्रोग्राम प्रतिघनमिटर छ । जुन घातक हो ।

नेपालमा पनि यो सूचकांक पाँच सयसम्म नाघ्ने गरेको छ ।

यद्यपि, शनिबार बिहान काठमाडौँमा पिएम-२‍.५ को मात्रा प्रतिघन्टा १७६ सम्म पुगेको आइक्युएरको तथ्यांकमा उल्लेख छ । यो सूचकांक १५१ नाघेमा अस्वस्थकर मानिन्छ । वातावरण स्वास्थ्य विज्ञ यादवराज जोशीले काठमाडौँमा दुई दिनयता बदली हुँदा वायु प्रदूषण बढ्दै गएको बताए ।

दोस्रोमा दक्षिण कोरियाको इनचोन, तेस्रोमा भारतको राजधानी नयाँदिल्ली, कीर्गिस्तानको विस्केक, पाँचौमा भारतको कोलाकाता सहर, छैटौँमा क्रोसियाको जागरेब, सातौँमा बंगलादेशको ढाका र आठौँमा नेपालको काठमाडौं रहेको छ ।

नेपालका यी सहर रेडजोनमा

नेपालमा वातावरण विभागले पनि वायु प्रदूषणको गुणस्तर मापन गर्छ । विभागले काठमाडौंसहित मुलुकका विभिन्न सहरमा राखेको वायु गुणस्तर मापन केन्द्रको तथ्यांक अनुसार प्रदूषण बढ्दै गएको छ ।

शनिबार बिहानको तथ्यांक अनुसार काठमाडौंसहित पाँच सहरको वायु प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको छ ।

पिएम २.५ को मात्रा प्रतिघन्टा हेर्दा पोखरामा १८४, बिराटनगरमा १७६, काठमाडौँको रत्नपार्कमा १५१, कीर्तिपुरमा १५६, सिमरामा १५४ पुगेको छ ।

धनकुटा, धनगढी, महेन्द्रनगरमा पनि प्रदूषण बढिरहेको छ । ती सहरको वायु गुणस्तरको मात्रा राष्ट्रिय मापदण्डभन्दा बढी रहे पनि रेड जोनमा परिसकेका छैनन् । – न्युज कारखाना

प्रकाशित : 20 November, 2021

प्रतिक्रिया दिनुहोस्