नोबेलका आन्दोलनरत विद्यार्थीले जलाए पुत्ला

सहयात्रा टिभी

काठमाडौं । पुस ३०, अतिरिक्त शुल्क प्रकरणविरुद्ध आन्दोलित विद्यार्थीहरूले बिहीबार विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माको पुत्ला दहन गरेका छन् ।

पुसको पहिलो सातादेखि आन्दोलित एमबीबीएस १५ औं ब्याचका विद्यार्थीहरूको माग सुनुवाई नभएको भन्दै संयुक्त विद्यार्थी संगठनले बिहीबार कलेज अगाडि सञ्चालक शर्माको पुत्ला दहन गरेका हुन् ।

उनीहरूले सञ्चालक शर्माको कृत्रिम शव बनाएर अस्पताल परिसर परिक्रममा गर्दै मूलद्वारमा पुत्ला दहन गरेका थिए । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादीका भ्रातृ संगठन अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन मोरङ र चिकित्सा शिक्षा विद्यार्थी आन्दोलन संघर्ष अभियानको सहयोगमा पीडित विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले दिनदिनै प्रदर्शनको स्वरूप परिवर्तन गर्दै आफ्नो आन्दोलनलाई जारी राखेका छन् ।

आन्दोलित विद्यार्थीहरूले कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता नभएसम्म आफ्नो आन्दोलनलाई थप सशक्त बनाउँदै जारी राख्ने चेतावनी दिएका छन् । आन्दोलनकै क्रममा झडपसमेत भएपछि विद्यार्थीहरूको आन्दोलनलाई लक्षित गरी स्थानीय प्रशासनले कलेजभित्र नेपाल र सशस्त्र प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था कडा बनाएका छन् ।

मेडिकल माफियाहरूले विद्यार्थीका अभिभावकलाई यातना, डर, धम्की दिएर चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क असुल्न खोजेको भन्दै अन्सारीले अब पनि माग सम्बोधन नभए भोलिबाट चरणबद्ध रूपमा थप आन्दोलनमा जाने चेतावनी दिनुभयो ।

उहाँले विद्यार्थीसँग जबरजस्ती अतिरिक्त शुल्क उठाउने शिक्षा माफिया रहुञ्जेल आफूहरूले पीडित विद्यार्थीको पक्षमा संघर्ष गरिरहने पनि बताउनुभयो ।

यस्तै, नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियु जिल्ला कमिटी मोरङका सचिव निर्मल भण्डारीले आफूहरूको आन्दोलनलाई बेवास्ता गरिएको र यति लामो आन्दोलन गरिरहँदा पनि मौन बसेको भन्दै सम्बन्धित पक्षलाई तत्काल माग सम्बोधन गर्न आग्रह गर्नुभएको छ ।

प्रकाशित : 14 January, 2022

प्रतिक्रिया दिनुहोस्