२४औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस

काठमाडौं । माघ ३, भूकम्पीय जोखिम न्यूनीकरण गर्न राष्ट्रिय भवन संहिता कार्यान्वयनमा जोड दिइएको छ ।
भवन संहिताविपरीत घर तथा भवन निर्माण हुँदा भूकम्पको समयमा ठूलो जनधनको क्षति हुने भन्दै सरोकारवाला निकायले भवन संहिता कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।
२४औं भूकम्प सुरक्षा दिवसको अवसरमा आइतबार ललितपुर महानगरपालिकाको पाटन दरबार स्क्वायर क्षेत्रमा स्वास्थ्य मापदण्ड पालना गर्दै आयोजित कार्यक्रमका सहभागीले भूकम्पबाट हुन सक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्न कमजोर संरचनालाई प्रवलीकरण गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले भूकम्पीय जोखिमका दृष्टिले मुलुक ११औं नम्बरमा रहेको बताउँदै भवन संहिताअनुसार मात्र घर निर्माण गरेर सुरक्षित संचरना बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आगामी दिनमा भूकम्पको जोखिम कम गराउन राष्ट्रिय भवन संहितालाई प्रभावकारी रूपमा लागू गर्नुको अर्को विकल्प नभएको बताउनुभयो ।
सिमेन्ट र छड प्रयोग गर्दैमा घर बलियो नहुने बताउँदै भौगोलिक अवस्थितिअनुसार निर्माण गर्दा भवन संहिताको ख्याल गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले सार्वजनिक स्थलमा संरचना बनाउदा भूकम्प आउँदा भाग्ने खुला क्षेत्र नभएकोमा चिन्ता व्यक्त गर्दै भन्नुभयो– ‘अब भएको सार्वजनिक जग्गालाई खुला क्षेत्रका रूपमा विकास गर्नुपर्छ ।
कमजोर घरहरूलाई प्रवलीकरण गरेर बलियो बनाउनुपर्ने बताउँदै उहाँले सरकारले कार्यक्रमकै रूपमा प्रवलीकरणलाई अगाडि बढाउनुपर्ने धारणा पनि व्यक्त गर्नुभयो ।