महको मूल्य बढ्दै, उत्पादन घट्दै

काठमाडौं । माघ ३, पकेट क्षेत्र मानिएको क्षेत्रमै यस वर्ष मह उत्पादन घटेको छ ।
सरकारले केही वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत मौरी जोन कार्यक्रम सञ्चालन गरेर किसानलाई अनुदान तथा प्राविधिक सहयोग गर्दै आएको छ तर मह उत्पादन भने घटेको छ ।
जाजरकोटमा गत वर्ष करिब १० टन मह उत्पादन भएकामा यस वर्ष एक टन मात्र उत्पादन भएको कृषि प्राविधिक तथा कृषि विकास कार्यालयका सूचना अधिकारी टोपेन्द्र नेपालीले बताए ।
नलगाड नगरपालिका–१, पालीका हरिबहादुर बुढाले गत वर्ष ८७५ किलोग्राम मह बिक्री गरी पाँच लाख रुपियाँभन्दा बढी आम्दानी गरेका थिए तर यसपालि मह उत्पादन घटेपछि उनी निराश भए । गत वर्ष ३०० केजीभन्दा बढी मह उत्पादन गर्ने सोही ठाउँका मनबहादुर रानाको ६० घारबाट यस वर्ष २० केजी पनि उत्पादन भएन ।
बुढा र राना जस्तै जिल्लाभर एक हजार १०० भन्दा बढी किसानको समस्या उस्तै छ । व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका किसान मह उत्पादन घटेपछि चिन्तित भएका छन् । गत असोज कात्तिक महिनामा धेरै पानी परेपछि चिउरी र अन्य फूलको रस बगाउँदा मह उत्पादन हुन नसकेको बताइएको छ ।