बुढेसकालमा बाध्यताको पेशा बाख्रापालन

सहयात्रा टिभी

काठमाडौं । माघ २०, बेसहारा जस्तै बनेका पुनलाई बुढेसकालको सहारा बनेको छ, बाख्रापालन घरमा धेरैजसो समय एक्लै हुने भएकाले बुढ्यौलीमा समय बिताउन पनि उनका लागि तिनै बाख्राहरू साथी बनेका छन् ।

घरमा काम गर्ने मानिसहरू नहुँदा पुनको नाममा रहेको सात रोपनी खेतीयोग्य जमिन भने बाँझै छ । यद्यपि बाख्रा पालनमा भने ६८ वर्षीय पुन सफल किसानको रुपमा चिनिएका छन् ।

दुई वटा बाख्रा लिएर व्यवसाय सुरु गरेका उनीसँग अहिले २० वटा बोका, बाख्रा र पाठापाठी छन् । जंगलको बीचमा रहेको घरमा एक्लै बस्दैआएका उनलाई घाँसपात गर्न गाह्रो हुने भए पनि जीवीकोपार्जनका लागि यही पेशा अंगालेको उनी बताउँछन् ।

यसबीचमा उनले खसी, बोका बिक्री गरेरै वार्षिक रुपमा ५० हजार रुपैयाँभन्दा धेरै कमाइ गरिसकेका छन् । बाख्रापालनबाट आम्दानी प्रसस्त भए पनि बुढ्यौलीमा काम गर्न कठिन हुने उनको अनुभव छ । बाख्रालाई घाँसपात, दाना, पानीको लागि समस्या हुने गरेको उनी बताउँछन् ।

बस्ने घर पनि ऐलानी जग्गामा रहेको र सात रोपनी जग्गा पनि ऐलानी भएकाले सम्पत्तीको नाममा बोका र बाख्रा मात्र रहेको उनले सुनाए । रुख चढेर घाँस काट्न समस्या हुँदा कहिलेकाहीँ छिमेकी बालबालिकाको सहायता लिने गरेको सुनाउँछन् ।

‘ढाड दुख्ने समस्या छ । एक ठाउँमा बसेपछि अर्को ठाउँमा जान कठिन हुन्छ’ उनले भने ‘पापी पेट भर्नका लागि जसोतसो गर्नु परेको छ । बेरोजगारीको समस्याले गर्दा छोरालाई कमाउन न जा भन्न सकिनँ । आफू एक्लै हुँदा यो हालत छ । श्रीमतीको पनि धेरै पहिले मृत्यु भएकाले सबै काम आफैंले गर्नु परेको छ ।’ जग्गा धेरै भए पनि बाँदरले सबै बाली खाइदिने गरेको र खनजोत गर्न नसक्दा वर्षौंदेखि जमिन बाँझै रहेको उनको भनाइ छ ।

सल्यानको बराढुंगामा पहिला १९ परिवार बस्थे । पानी, सडक लगायत भौतिक पूर्वाधार नभएपछि सुविधाको खोजीमा अधिकांश कालीमाटीको रामपुर र दाँतिर झरे । त्यसपछि त केशर पुन एक्लै बनेका हुन् ।

प्रकाशित : 3 February, 2022

प्रतिक्रिया दिनुहोस्