कर्णालीको पर्यटन क्षेत्रबाट ४८ लाख राजस्व सङ्कलन
काठमाडौं। वैशाख २३, कर्णाली प्रदेशको पर्यटन क्षेत्रबाट रु ४८ लाख राजस्व सङ्कलन भएको छ ।
यहाँका विभिन्न पर्यटकीयस्थल घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकबाट उक्त राजस्व सङ्कलन भएको हो ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा सबैभन्दा बढी आन्तरिक पर्यटक घुम्न आएका थिए ।
विसं २०७८ वैशाख–पुससम्म बुलबुले ताल दृश्यावलोकन गर्न एक लाख ५१ हजार २८२ आन्तरिक र ५५ बाह्य पर्यटक आएका थिए ।
उनीहरुबाट रु २१ लाख ७१ हजार राजस्व सङ्कलन भएको कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन विकास शाखाका प्रमुखले जानकारी दिनुभयो ।
त्यस्तै २०७८ वैशाख–पुससम्म काक्रेबिहार घुम्न एक लाख ७४ हजार ३६९ आन्तरिक र १२ बाह्य पर्यटक आएका थिए । उनीहरुबाट रु ६ लाख १८ हजार राजस्व सङ्कलन भएको थियो ।
वीरेन्द्रनगरस्थित प्रादेशिक सहिद उद्यान पर्यटकीयस्थल घुम्न आउने १६ हजार २०० आन्तरिक पर्यटकबाट रु चार लाख ५० हजार राजस्व सङ्कलन भएको छ । गत चैतसम्म अपर कर्णालीको मुगु रारातालमा १३ हजार ११३ आन्तरिक र ६६ बाह्य पर्यटकले दृश्यावलोकन गर्दा रु नौ लाख ३३ हजार राजस्व सङ्कलन भएको छ ।
गत माघसम्म डोल्पाको शे–फोक्सुण्डो घुम्न आउने तीन हजार ४३८ आन्तरिक र ६१ बाह्य पर्यटकबाट रु तीन लाख ३१ हजार ८०० राजस्व सङ्कलन भएको शाहीले बताउनुभयो ।