हिमपातले यार्सागुम्बा सङ्कलन रोकियो
मनाङ । जेठ १३, औषधिजन्य जडीबुटी यार्सागुम्बा सङ्कलन रोकिएको छ । हिमाली जिल्ला मनाङमा हिमपात भएपछि यार्सागुम्बा सङ्कलनका लागि खर्कमा पुगेका सङ्कलक फर्किएका हुन् ।
हिमपातले गर्दा यार्सागुम्बा सङ्कलन गर्न सक्ने अवस्था नभएपछि बेँसी फर्किएको धादिङका मिलन तामाङले बताए । “मनाङमा पानी परेपछि भ्राताङ लेकमा हिउँ पर्दा यार्सागुम्बा सङ्कलन गर्न नसकेर बेँसीतर्फ फर्र्किएका हौँ, ठेक्कामा काम गर्न यहाँ आएका हौँ”, उनले भने ।
नार्फुको हुलाबाट लेकमा यार्सागुम्बा सङ्कलन गर्ने गरेको धादिङ रिहीका ४६ वर्षीय एक्का तामाङले बताए । दैनिक नौ–दशवटा यार्सागुम्बा सङ्कलन गर्न सकिने उनले बताए । “एक दिनको पैदलयात्रा गरी चैतदेखि यार्सागुम्बा सङ्कलनका लागि मनाङ आएका हौँ । लेकमा बसेको साढे एक महिना भयो । यार्सा ठेकेदारले लिने र चार जनाका लागि रु साढे चार लाख खर्च गरेको छ”, उनले भने, “पिसको रु ४०० मा ठेकेदारले लिन्छन् । पूर्जी र रासनको खर्च पुग्ने गरी सङ्कलन गरेको छु । गत वर्ष भने घाटा भएको थियो ।”
डेढ महिनामा २०० यार्सागुम्बा सङ्कलन गरेको उनले बताए । ठेकेदारले राम्रो प्रकारको यार्सागुम्बामात्रै खरिद गर्ने उनले बताए । यार्सागुम्बा टिप्ने समयमा मात्रै मनाङ आउने गरेको तामाङले बताए । रासन सकिएपछि लिन आएको र हिउँ परेपछि यार्सागुम्बा सङ्कलन गर्न सकस भएकाले बेँसी फर्किएकव उनले बताए ।
आफैँले खाना बनाएर खाने र ओढारमा बसेर यार्सागुम्बा सङ्कलन गर्ने गरेको तामाङले बताए । धादिङका १९ जनालाई यार्सागुम्बा सङ्कलन गर्नका लागि ठेकेदारले रु ४२ लाख पूर्जी काटेको सोही ठाउँका ३० वर्षीय एसु तामाङले बताइन् । हालसम्म ५२० यार्सागुम्बा सङ्कलन गरेको उनले बताइन् ।
ठेकेदारले यार्सागुम्बा सङ्कलकलाई प्रतिगोटा रु ४०० दिने गरेको एसुले बताइन् ।
केही खर्कमा चैत पहिलो सातादेखि जेठको तेस्रो हप्तासम्म यार्सागुम्बा सङ्कलन गर्ने समय हो भने केही स्थानमा असारको पहिलो हप्तासम्म यार्सागुम्बा सङ्कलन गर्न सकिन्छ । यार्सागुम्बा पाउने समय अझै रहेकाले हिमपात र खाद्यान्न लिएर पुनः खर्कतर्फ जाने उनीहरू बताउँछन् ।
विशेषगरी यस मौसममा औषधिजन्य जडीबुटी सङ्कलन गरी घरमा ल्याएर सुरक्षित गर्ने समयका रूपमा लिइन्छ । औषधिजन्य जडीबुटी सङ्कलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको गत चैत २३ गते बसेको बैठकले यार्सागुम्बा सङ्कलन गर्न इजाजत प्राप्त भएपछि समितिमार्फत पूर्जी दिने निर्णय भएको थियो ।
बैठकको निर्णयबमोजिम नै यार्सागुम्बा सङ्कलन गर्न पाउने भएपछि मनाङवासीलाई चटारो छ । जडीबुटी सङ्कलन मनाङवासीको मुख्य आयस्रोत मानिन्छ । यार्सा सङ्कलनका लागि जिल्लावासीमात्रै नभएर बाहिरी जिल्लाबाट पनि आउने गर्दछन् ।
नाम्केखर्कबाट सुरु हुन्छ भने नारफु र माथिल्लो मनाङको खाङ्सार खर्कमा यार्सा सङ्कलन कार्य सकिने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । उनका अनुसारको पहिलो हप्तासम्म औषधिजन्य जडीबुटी सङ्कलन गर्न सकिने समय हो । वैशाख १५ देखि असारको पहिलो सातासम्म औषधिजन्य जडीबुटी सङ्कलन गरी बेँसीतर्फ यार्सागुम्बा सङ्कलक फर्किने छन् ।
मनाङवासीले यहाँको नागरिकता वा बसाइँसराइ भएमा बसाइँसराइको प्रमाणपत्र समितिमा संलग्न राखी यार्सा सङ्कलन पूर्जी दिनेछ । संस्थामार्फत यार्सा सङ्कलन गरिँदै छ भने आर्थिक वर्ष २०७७÷७८ का लागि दिइएको सङ्कलन पूर्जी उपलब्ध गराउने उनले बताए । यार्सा सङ्कलन अवधिभर नेपाल प्रहरीद्वारा आवश्यकतानुसार नार, फुलगायतका अन्य स्थानमा सुरक्षा प्रबन्ध मिलाउने र अन्य सुरक्षा निकायले सहयोग गर्ने उनले बताए ।
मनाङ बाहिरका यार्सागुम्बा तथा अन्य जडीबुटी सङ्कलक र खरिद गर्न आउने व्यक्तिले अनिवार्यरूपमा कोभिड–१९ विरुद्धको खोप लगाएको परिचयपत्र (मोबाइलमा भए पनि खोपकार्ड) लिएर आउनुपर्ने र प्रहरी कर्मचारीले माग गरेको अवस्थामा देखाउनुपर्नेछ । यार्सागुम्बा तथा अन्य जडीबुटी सङ्कलक तथा खरिदकर्ताले आवश्यक स्वास्थ्यका मापदण्ड अपनाउन अनुरोध गरिएको छ ।
गत दुई वर्ष यार्सागुम्बा तथा अन्य जडीबुटी सङ्कलन र खरिद बिक्री गर्न नसक्दा जिल्लाको राजस्व पनि घटेको थियो । यस वर्ष जडीबुटी सङ्कलन भएकाले राजस्व वृद्धि हुने अपेक्षा गरिएको छ । विगतमा जेठ अन्तिम सातासम्म यार्सागुम्बा सङ्कलन गर्ने समय तोकिएको भए पनि यस वर्ष निर्वाचनका लागि केही समय रोक लगाइएको हुँदा असारको पहिलो हप्तासम्म सङ्कलन गर्न दिने निर्णय भएको छ । – रासस