शेयर बजारमा सामान्य सुधार
काठमाडौँ । असार २, लामो समयदेखि वियरिष ट्रेण्डमा रहँदै आएको शेयर बजारमा बिहीबार सामान्य सुधार आएको छ ।
सरकारले जेठ १५ गते बजेट घोषणा गरेदेखि बजार निरन्तर ओरालो लागेको थियो ।
१५ दिनमा मात्र एकैदिन ६० अंकले उकालो लागेको बजार त्यस यता आजै मात्र दोहोरो अंकले सुधारिएको हो ।
तीब्र उतार चढावबीच बजार परिसूचक १२ अंकले सकारात्मक रहेर १९ सय ७८ कायम भएर थामियो । बजार उकालो लागेर पौने १२ बजे १९ सय ९३ को अंक छोएर फर्किएको हो ।
कारोबार भने यस दिन पनि अर्ब हाराहारीमै सीमित रह्यो । यस दिन जीवन बिमा र लगानी समूह नगन्य अंकले रातो रहेबाहेक अरु सबै समूह हरियो रहे ।
अधिकांशजसो समूह दोहोरो अंकले बढेपनि ५० अंक कुनै समूहले पुर्याउन सकेन । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २१ कम्पनीको ३६ लाख कित्ता बराबर शेयर १ अर्ब १९ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
यस दिन १ सय ३७ कम्पनीको शेयर मूल्य बढ्दा ४५ को घट्यो भने ११ को स्थिर रहेको पनि नेप्सेले जनाएको छ ।