सुसाइड नोट बरामद, श्रीमतीप्रति गुनासो गर्दै परिवार नै सखाप

सहयात्रा टिभी

काठमाडौं । साउन १८,  राजधानीको तारकेश्वर नगरपालिका–२, काभ्रेस्थलीमा बस्दै आएका दिनेश पाण्डेले श्रीमतीप्रति गुनासोगर्दै परिवार नै सखाप पारेको खबर आएपछि जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोली घटनास्थलमा पुग्यो । श्रीमतीको हत्या गर्दागर्दै छोराछोरीले थाहा पाएको अथवा ब्युँझिएको हुनसक्छ, त्यही क्रममा दुवैको हत्या भएको हुनसक्ने प्रहरी अधिकृतहरुको विश्लेषण छ ।

दिनेशले लेखेको सुसाइड नोटमा भने ‘छोराछोरीलाई छाड्न मन नलागेर सँगै लगेको’ दाबी छ । प्रहरीका अनुसार दिनेशले लेखेको सुसाइड नोटमा श्रीमती सुनिताप्रति धेरै गुनासो गरेका छन् । प्रहरीले हालसम्म नोटमा उल्लेखित विषयहरुलाई ‘क्रसचेक’ गरिसकेको त छैन, तर उनको एकतर्फी लेखौटलाई मान्ने हेर्दा भने परिवारै सिद्धाउनु पछाडिको कारण श्रीमान् र श्रीमतीबीचको बेमेल नै भएको देखिन्छ ।

नोटमा उनले श्रीमतीकै खुसीका लागि १३ वर्ष विदेश गएर दुःख गरेपनि आफू एक्लो भएको भनेका छन् । ‘परिवार र श्रीमतीको सुखीका लागि दुःख गर्न विदेश गएँ, तर सबैले सम्पत्ति हडपेर मलाई एक्लै पार्न खोजे’ उनले भनेका छन्, ‘जति माया गरेपनि मैले बदनामी मात्रै पाएँ, मलाई थुनाउन पनि पछि परेनन्।’

सुरुमा घटनास्थल सुरक्षित गरेर जाँच थालेका थियौं’ काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० भरतबहादुर बोहोरा भन्छन्, ‘घटनास्थलमा सुसाइड नोट बरामद भयो, त्यसबाटै धेरै कुरा स्पष्ट भइहाल्यो ।’

नोटले ४१ वर्षीय दिनेशले श्रीमती सुनिता, छोरी आशिका र छोरा आशिकको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेको हुनसक्ने देखाएको प्रहरी बताउँछ । घरभित्र चारजना बाहेक तेस्रो व्यक्तिको प्रवेश नहुनु, हत्यामा प्रयोग भएका चक्कु र ब्लेड पनि त्यहीं फेला पर्नुले पनि हत्यापछि आत्महत्या भएको आशंकालाई नै बल पुर्‍याएको प्रहरी बताउँछ ।
श्रीमती सुनिता पाण्डेले करिब ६ महिनाअघि छिमेकी सुनिता कार्कीसँग आफ्ना श्रीमानलाई संकेत गर्दै भनेकी थिइन्, ‘कुनै दिन मलाई यसैले मार्छ होला, खुकुरी र कर्द पनि राखिबस्छ ।’
पति दिनेश पाण्डेसँग हुने रातदिनको झगडाबाट वाक्क भएर उनले यसो भनेकी थिइन् होला । तर भयो त्यस्तै । दिनेशले सुनिता मात्र होइन, १३ वर्षकी छोरी आशिका र ८ वर्षका छोरा आशिकको हत्या गरे, अनि आत्महत्याको बाटो रोजे ।

 

 

 

प्रकाशित : 3 August, 2022

प्रतिक्रिया दिनुहोस्