बाढीका कारण कैलालीमा सयौँ परिवार विस्थापित, सुत्केरीलाई समस्या

सहयात्रा टिभी

काठमाडौँ । असोज ३, कैलालीमा बाढीपछि सयौँ परिवार विस्थापित भएका छन् । ती परिवार सडक, उच्च घर तथा विद्यालयमा आश्रय लिएर बसिरहेका छन् । यसरी आश्रय लिएर बसिरहेका मध्ये गर्भवती तथा सुत्केरीलाई समस्या भइरहेको छ ।

जिल्लाको भजनीमा रहेको हुलाकी सडकमा दुई वर्षमुनिका बालबालिका पनि छन् । सडकमा बसेका उनीहरु राम्ररी सुत्नसमेत पाएका छैनन् । बालबालिका र आमाहरुलाई थप समस्या भएको छ । भजनी नगरपालिकाका स्वास्थ्य संयोजक कैलाश चौधरी प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या नहोस् भनी स्वास्थ्यकर्मी सडकमै  खटिसकेका जानकारी दिनुभयो ।

हरेक विपद् तथा महामारीका समयमा अन्य मानिसभन्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक बढी समस्यामा पर्छन् । यस्तो बेलामा उनीहरुका समस्यामा बढी संवेदनशील हुन आवश्यक हुन्छ । महिला अधिकारकर्मी निर्मला कडायत विपद्का समयमा राहत तथा सहयोगका कार्यक्रम ल्याउँदा महिला तथा बालबालिकाका विशेष समस्याबारे जानकार हुन आवश्यक हुने बताउनुभयो ।

सुत्केरी र गर्भवतीलाई अन्य मानिसभन्दा बढी पोषण चाहिन्छ, बालबालिकालाई थप खानेकुरा चाहिन्छु, उहाँले भन्नुभयो, महिला महिनावारी हुन्छन्, स्यानिटर प्याड चाहियो, शौचालय, पानीको व्यवस्थाजस्ता कुरामा स्थानीय सरकार तथा सरोकारवालाले ध्यान दिऔँ ।

यसका साथै विपद्का समयमा हुनसक्ने लैङ्गिक हिंसाका घटनाबारे समेत नागरिक सचेत हुन आवश्यक रहेको उहाँको भनाइ छ । बाढीका कारण कैलालीको भजनीमा हजारौँ परिवार, टीकापुर, जानकी र जोशीपुरमा सयौँ परिवार प्रभावित भएका छन् । प्रभावित परिवार उच्च घर, विद्यालय तथा सडकमा बसिरहेका छन् ।

प्रकाशित : 19 September, 2022

प्रतिक्रिया दिनुहोस्