भृकुटीमण्डपमा विद्युतीय गाडीको मेला, सबैभन्दा बढी टाटाको नेक्सन ईभी बुकिङ
काठमाडौ । असोज १०, काठमाण्डौको भृकुटीमण्डपमा चारदिनसम्म चलेको विद्युतीय गाडीको मेला हिजोदेखि सकिएको छ । मेलामा सबैभन्दा बढी टाटाको नेक्सन ईभी बुकिङ भएको छ । नेक्सन ईभी मात्रै १ सय ३० वटा बुकिङ भएको हो ।
मेला ४० हजार जनाले अवलोकन गरेका र विद्युतीय गाडीमा धेरैको आकर्षण देखिएको आयोजक अटोमोबाइल्स एसोसिएशन अफ नेपाल नाडाले जनाएको छ । टाटापछि हुन्डाईको विद्युतीय गाडी धेरै बुकिङ भएको छ ।
सरकारले पेट्रोलियम पदार्थबाट चल्ने गाडी आयातमा प्रतिबन्ध लगाएपछि नाडाले विद्युतीय गाडीको प्रदर्शनीको आयोजना गरेको हो । मेलामा ९ वटा ब्रान्डका विद्युतीय कार र १६ वटा ब्रान्डका विद्युतीय स्कुटर तथा बाइक राखिएको थियो ।
बिक्रेताहरुले विद्युतीय गाडी बुकिङ गर्दा विभिन्न नगद छुटसहित आकर्षक अफरहरु समेत ल्याएका थिए । मेलामा ३० लाखदेखि २ करोड ४० लाख रुपैयाँसम्म पर्ने विद्युतीय गाडी र ६ लाख रुपैयाँसम्म पर्ने स्कुटर तथा बाइकहरु राखिएको थियो ।