पूर्वी नाकाबाट धुलावारी बजारसम्म भारतीय गाडीलाई निःशुल्क सुविधा पास दिने

सहयात्रा टिभी

काठमाडौ । असोज १०, मेची भन्सार कार्यालयले आजदेखि पूर्वी नाका काँकडभिट्टाबाट निजी प्रयोजनका भारतीय नम्बर प्लेटका सवारी साधनलाई नजिकको धुलावारी बजारसम्म आवतजावत गर्न निःशुल्क ‘सुविधा पास’ उपलब्ध गराउन थालेको छ ।

तीन वर्षदेखि भारतीय सवारी साधनलाई यो सुविधा दिइएको थिएन । भन्सार कार्यालयले आइतबार सूचना जारी गरेरै असोज १० गतेदेखि नाकाबाट प्रवेश गर्ने भारतीय जीप, कार र मोटरसाइकल आदिलाई ‘सुविधा पास’ दिइने जानकारी गराएको छ ।

मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत केशवप्रसाद ओलीले मेची उद्योग वाणिज्य सङ्घ र पर्यटन व्यवसायसँग आबद्ध सङ्घसंस्थाले सीमा नजिकको बजारसम्म भारतीय सवारीसाधनलाई सुविधा पासमा प्रवेश दिन माग गर्दै आएको बताए ।

मेची उद्योग वाणिज्य सङ्घले मेची भन्सार कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै उक्त माग दोहोर्याएको थियो । भन्सार कार्यालयले व्यवसायीसँग यस विषयमा छलफलसमेत गरेको थियो ।

मेची भन्सार कार्यालयको सूचनामा त्यस्तो सुविधा बिहान ८ देखि बेलुका ५ बजेसम्म चल्नेगरी भारतीय गाडीले पाउने उल्लेख छ । यो सुविधा पास पाउन भारतीय सवारीसाधनले कुनै शुल्क बुझाउनु पर्दैन । यसअघि भारतीय गाडीले २४ घण्टासम्म नेपालको सीमाभित्र सवारी सञ्चालन गर्न दैनिक रु पाँच सय तिरेर अस्थायी अनुमतिपत्र लिनुपर्थ्यो ।

 

प्रकाशित : 26 September, 2022

प्रतिक्रिया दिनुहोस्