अमेरिकामा सम्पन्न हुने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिदै अर्थमन्त्री शर्मा

सहयात्रा टिभी

काठमाडौँ । असोज २६, अर्थमन्त्री जनार्दन शर्मा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा भाग लिन हिजो मङ्गलवार बेलुकी अमेरिकाको राजधानी वाशिङ्टन डीसी आइपुग्नुभएको स्रोतले जनाएको छ ।

अर्थमन्त्री शर्मालाई विमानस्थलमा स्वागत गर्न अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीलगायत दूतावासका प्रतिनिधि पुग्नुभएको थियो । अमेरिकाको राजधानी वाशिङ्टन डीसीमा यही अक्टोबर १० देखि सुरु भएको विश्व बैंकको वार्षिक बैठक यही १६ तारिखसम्म जारी रहनेछ।

अर्थमन्त्री शर्माको नेतृत्वमा विश्व बैंकको बैठकमा सहभागी हुन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थ सचिव कृष्णहरि पुष्करसहित अर्थ मन्त्रालय तथा राष्ट्र बैंकका उच्च अधिकारीहरू डीसी आइपुग्नुभएको छ ।

अर्थमन्त्री शर्माले आज बुधवार विश्व बैंक भोटिङ ग्रुपको बैठकमा सहभागिता जनाउनाका साथै विश्व बैंकको विभिन्न मन्त्रिस्तरीय सत्रहरूमा सहभागी हुनुहुनेछ ।

उहाँले अमेरिकी सहयोग नियोगका उच्च अधिकारीसँग भेटघाट गर्ने, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका उच्च पदाधिकारीसँग पनि छलफल गर्नुहुने कार्यक्रम रहेको डीसीमा रहेको नेपाली दूतावासले जनाएको छ ।

 

 

प्रकाशित : 12 October, 2022

प्रतिक्रिया दिनुहोस्