देशमा आर्थीक अभावका कारण सिमेन्ट उद्योग समस्यामा

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक १, लगानीयोग्य रकम अभावमा निर्माणका कार्य प्रभावित हुँदा सिमेन्टको बिक्री पनि प्रभावित भएको छ । बजारमा खपत नभए पछि सिमेन्ट उद्योगहरु समस्यातर्फ अघि बढेको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुबराज थापाले बताए ।

बजारमा नियमित मूल्यमा सिमेन्टको बिक्री नहुँदा बैंकको किस्ता र ब्याजदरका लागि सिमेन्ट कम्पनीहरुले लागत भन्दा पनि सस्तोमा बिक्ने सिमेन्ट बिक्री गरिरहेको संघले जनाएको छ । बैंकको ब्याजदर, कच्चा पदार्थको लागत मूल्यमा भारी बृद्धि र बिक्री घट्ने कारणले सिमेन्ट उद्योगहरु शिथिल भएको उनीहरुको दाबी छ ।

सिमेन्ट ओभर प्रडक्सन हुँदा उत्पादित सिमेन्ट मौज्दात राख्ने अवस्था बनेको पनि बताए । बैंक किस्ता तिर्नका लागि उद्योगहरु जबरजस्त बिक्रीमा लाग्दा बजारमा अस्वस्थ प्रतिस्पर्धा भएको पनि उनको भनाई छ । सिमेन्टमा विदेशी लगानी रोक्न पर्ने अवस्था आएको र यसबारे सरकारले तत्काल कदम नचाले भएका उद्योगहरुको भविष्य जोखिममा पर्ने पनि उनको भनाइ छ ।

संघका अध्यक्ष थापा निर्यातमा अनुदान सम्बन्धी संशोधित निर्यात कार्यविविधिले साना सिमेन्ट उद्योगीलाई अन्याय गरेको बताउँछन् । निर्यातमा ८ प्रतिशतसम्म नगदअनुदान पाउन ५० करोड बजार बराबरको निर्यात गर्नुपर्ने मापदण्डले साना सिमेन्ट उद्योग लाभान्वित नहुने उनको तर्क छ ।

नेपाल निर्माण व्यवसायी महासंघले पनि अहिले निर्माण चक्र मन्दीको अवस्थामा रहेको बताएको छ । लगानीयोग्य रकम अभावमा बैंकहरु पर्दा तयसको असर उत्पादकदेखि निर्माणका उपभोक्तासम्म परेको महासंघका अध्यक्ष रवि सिंहले बताए ।

सरकारबाट यथेष्ठ मात्रामा खर्च गर्न नसक्नु, काम भइरहेका आयोजनामा भुक्तानीका लागि झन्झटिलो प्रक्रिया हुनु र नयाँ आयोजना नहुनुले बजारमा नगद प्रवाहमै समस्या भएको उनको भनाइ छ । चुनावमा हुने खर्च र हिउँद लागेका कारण निर्माणका काममा केही गति बढे मात्रै निर्माणसंग सम्बन्धित औद्योगिक चक्र चलायमान हुने आशा बाँकी रहेको सिंहको भनाइ छ ।

नेपाल सिमेन्ट उत्पादक संघकाअनुसार नेपालमा अहिले ६६ वटा सिमेन्ट उद्योगहरु सञ्चालनमा छन् । ती उद्योगमा कुल लगानी ३ खर्ब भन्दा धेरै छ । वार्षिक २५ मिलियन टन भन्दा धेरै उत्पादन क्षमता रहेका ती सिमेन्ट उद्योगहरु अहिले बजारको अभावमा कम क्षमतामा चलिरहेको पनि संघको भनाइ छ ।

 

 

 

प्रकाशित : 18 October, 2022

प्रतिक्रिया दिनुहोस्