यमपञ्चकको पहिलो दिन शान्तिबाटिकामा १९औँ ‘काग सम्मेलन’ काग बोलाएर मनाउदै

काठमाडौँ । कात्तिक ६, काठमाण्डौको रत्नपार्कमा रहेको शान्तिबाटिकामा १९औँ ‘काग सम्मेलन’ कागलाई बोलाएर मनाईएको छ ।
यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा रत्नपार्कको शान्ति बाटिकामा आज बिहान काग बोलाएर १९औँ काग सम्मेलन गरिएको हो । सम्मेलनमा कलाकार रमेश दुलालले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा जम्मा पार्नुभएको थियो ।
दुलालले कागको स्वर निकालेर बोलाउनु भएपछि कागहरु उहाँको आवाज भएको ठाउँसम्म आइपुगेका थिए । दुलालले विगत १८ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आउनुभएको छ । काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रुपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ । काग तिहारमा कागलाई मीठा मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ ।
दुलालले यस वर्षको काग सम्मेलनको सन्देश ६० कटेका वृद्ध नेताहरुको बिदाइ र युवाहरुलाई अवसर भन्ने रहेको बताउनु भयो । उहाँले आउँदो वर्ष काग सम्मेलन गरेको २० वर्ष पुग्ने र यस अवसरमा टुँडिखेल वा नारायणहिटीमा ठूलो कार्यक्रम गर्ने बताउनुभयो ।
आकाशबाट उडेर छिटो सन्देश ल्याउन लैजानसक्ने भएकाले यमराजले कागलाई आफ्नो दूत बनाएको धार्मिक विश्वास रहेको छ । त्यसैले काग तिहारको दिनमा कागलाई पूजाआजा गरेर मिठो खानेकुरा खान दिएमा यसले वर्षभरि आफ्नो घरमा दुःखद् सन्देश ल्याउँदैन भन्ने विश्वास रहेको छ ।
यसदिनमा बिहानैदेखि कागको पूजा गरिन्छ, घरबाहिर पात या दुना, टपरीमा विभिन्न खाना राखेर कागलाई खान दिइन्छ । कागको पूजाआजा गर्दै आउँदो वर्षभर कागले आफ्नो घरआँगनमा राम्रो र सुखद् खबरमात्रै ल्याओस् भनेर कामना गरिन्छ।