नेप्सेले मार्जिन कारोबारका लागि ८७ कम्पनीको सूची सार्वजनिक
काठमाडौँ । कात्तिक २२, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मार्जिन कारोबारका लागि योग्य कम्पनीको सूची सार्वजनिक गरेको छ । हाल नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये मार्जिन कारोबारका लागि ८७ वटा कम्पनी मात्रै योग्य रहेको नेप्सेले जनाएको छ ।
जसमध्ये २५ सूचीकृत वाणिज्य बैंकमा १७ वाणिज्य बैंकहरु मात्रै मार्जिन कारोबारका लागि योग्य रहेका छन् । मर्जर प्रक्रियामा रहेर कारोबार रोक्का रहेका कम्पनीहरु भने उक्त सूचीमा छैनन् । जसले गर्दा, सिभिल, सेञ्चुरी, मेगा, नेपाल इन्भेष्टमेन्ट, ग्लोबल आईएमई, कुमारी, एनसीसी बैक र बैंक अफ काठमाण्डू उक्त सूचीमा छैनन् ।
यस्तै राष्ट्रिय स्तरका ८ वटै विकास बैंक मार्जिन कारोबारका लागि योग्य रहेको नेप्सेले जनाएको छ । तर, क्षेत्रीय स्तरका विकास बैंकहरु मार्जिन कारोबारका लागि योग्य सूचीमा छैनन् ।
फाइनान्स कम्पनीतर्फ सेन्ट्रल, आईसीएफसी, मञ्जुश्री, पोखरा र रिलायन्स फाइनान्स मात्रै मार्जिन कारोबारका लागि योग्य रहेको नेप्सेले जनाएको छ । होटलमा तारागाउँ रिजेन्सी होटल मार्जिन कारोबारका लागि योग्य हुँदा ओरीयन्टल होटल र सोल्टी होटल भने उक्त सूचीमा छैनन् ।
हाइड्रोपावर तर्फ करिब ६० कम्पनी सूचीकृत रहेकोमा १३ कम्पनी मात्रै मार्जिन कारोबारका लागि योग्य रहेको नेप्सेले जनाएको छ । यस्तै नागरिक लगानी कोषको सेयर पनि मार्जिन कारोबारका लागि योग्य कम्पनीको सूचीमा रहेको छ ।