कालिञ्चोक दर्शनको आइपिओ खुल्यो, क–कसले दिन पाउँछन् आवेदन?

सहयात्रा टिभी

कालिञ्चोक । मंसिर १४, कालिञ्चोक दर्शन लिमिटेडले आज (बुधबार) देखि आइपिओ निष्कासन गर्ने गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको २ प्रतिशत अर्थात् १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको छ।

त्यसैगरी, सर्वसाधारणमा निष्कासन हुने १० लाख ८० हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा गाएका नेपालीहरूले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ।

कम्पनीको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। स्थानिय बासिन्दाहरुले अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेकाहरूले अधिकतम १० हजार ८०० कित्ताका लागि आवेदन दिन पाउने व्यवस्था रहेको छ।

उक्त आइपिओमा मंसिर २८ गतेभित्र आवेदन दिनु पर्नेछ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा स्थानीयले भने पुस १४ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीको आइपिओलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको जनाउँछ।

कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। आवेदकले बिक्री प्रबन्धक र कालिञ्चोक दर्शन लिमिटेडको कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यसका साथै मेगा बैंक र सेञ्चुरी बैंकका दोलखाका तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन्।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा तीन करोड ६९ लाख रूपैयाँ आम्दानी गरेको छ। कम्पनीले ३५ कोठाको होटल निर्माणमा करिब २५ करोड लगानी गर्ने रणनीति बनाएको छ।

प्रकाशित : 30 November, 2022

प्रतिक्रिया दिनुहोस्