सेयर बजारमा एकल अंकको सामान्य वृद्धि
काठमाडौँ । मंसिर १८, साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । आइतबार बजार परिसूचक नेप्से २.१६ अंक (०.११ प्रतिशत) ले वृद्धि भएर १९६३.२२ अंकमा बन्द भएको छ ।
अधिकांश उपसूचकमा वृद्धि भएपनि बैंकिङ, विकास बैंक, वित्त कम्पनी र उत्पादनमुलक उपसूचकमा गिरावट भएको छ । बजारलाई लिड गर्ने बैंकिङ उपसूचक नै घट्दा अधिकांश उपसूचक बढेपनि नेप्सेमा सामान्यमात्रै वृद्धि देखिएको छ ।
आइतबार जीवन बीमा उपसूचक भने १.९८ प्रतिशतले वृद्धि भएको छ । नेप्सेमा सामान्य वृद्धि हुँदा कारोबार रकम पनि डेढ अर्ब नाघेको छ ।
३६ लाख ९४ हजार ८४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५६ करोड १७ लाख २ हजारको कारोबार भएको छ । जसमध्ये नबिल बैंकको सर्वाधिक १९ करोड ८० लाख ६७ हजारको कारोबार हुँदा नेस्डो समृद्धि लघुवित्तको ८ करोड ७७ लाख १५ हजार र फस्ट माइक्रोफाइनान्सको ७ करोड ११ लाख १८ हजारको कारोबार भएको छ ।